चिली ।
चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहनुभएकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाउएका छन।
४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन ।
रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए। त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उनले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए। उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।
तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेटे । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सक्नुभएन ।
चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताएका छन् ।
पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।
पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आएका थिए। गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गर्नुभएको थियो । तर अस्पतालमै उहाँका सन्तान खोसिएपछि जीवनभर वियोग सहनुपरेको थियो ।
“धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्यो”, उनले भने ।
पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताए । ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्य अघि बढाउन चाहेको बताएका छन ।
–––