© 2026
गुल्मी ।
गोवर्धन पूजाका अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गा स्थित गौशालामा १०८ गाईको सामूहिक रूपमा पूजा गरिएको छ । गाईलाई नुन खुवाउने उद्देश्यले बिहानैदेखि सयौँ श्रद्धालुहरू नुन, तेल, पिठोर घाँस बोकेर गौशाला पुगेका थिए ।
गाईलाई लक्ष्मीको स्वरूप मानेर गोवर्धन पूजा गरिएको अवसरमा गाईलाई नुन, तेल, पिठो तथा फलफूल खुवाइएको थियो । गाईको पूजा गरी नुन खुवाउँदा घरमा लक्ष्मीको बास हुने र रोग व्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वासका कारण गुल्मी सहित छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरू गौशाला आउने गर्दछन् ।
रेसुङ्गा संरक्षण समितिले विसं २०४२ देखि रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा स्थानीय जातका गाईको संरक्षण गर्दै आएको छ । हिन्दु धर्मावलम्बीले गाईलाई आमाका रूपमा पूजा गर्ने परम्परा रहिआएकाले यस क्षेत्रमा गाई पूजाको विशेष धार्मिक महत्त्व रहेको समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
रेसुङ्गा संरक्षण समितिले गोवर्धन पूजाको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले बेलाबेलामा गौ प्रवचन कार्यक्रम समेत आयोजना गर्दै आइरहेको छ । पछिल्लो समय समितिले श्रद्धालुबाट दैनिक एक रुपैयाँका दरले वार्षिक रूपमा मुष्ठिदान सङ्कलन कार्यलाई निरन्तरता दिँदै आएको छ ।
सनातन हिन्दु संस्कृतिमा गाईलाई लक्ष्मीको स्वरूप, पवित्रता र वात्सल्यको प्रतीकका रूपमा लिइन्छ । गोवर्धन पूजाका दिन गाईलाई नुन, पिठो तथा मिष्ठान्न खुवाएर पूजा–आराधना गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास समेत रहिआएको छ ।