© 2026
मानिसलाई प्रकृति र त्यससंग गासिएको सामाजिक जीवनको अवलोकन र अध्ययनले बढी खुशी र उर्जा दिन्छ । आधुनिक समाजको भागदौडयुक्त जीवनबाट केहि समय आफुलाई मुक्त राख्नको लागि प्रकृतिको नजिक समय विताउने चाहना मानिसहरूमा बढिरहेको छ र मानिसहरूलाई पर्यापर्यटनतर्फ आकर्षित गरिरहेको छ ।
प्रकृतिलाई माया गर्ने, मित्रता गाँस्ने, वातावरणीय सचेतना वृद्धि गर्ने तथा पर्यावरण अनुसन्धान गर्ने कार्यसंग जोडिएर गरिने पर्या पर्यटनले जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक–आर्थिक लाभको समन्यायिक वितरणमा जोड दिने भएकोले वर्तमान समयमा यसलाई पर्यटनको अभिन्न अंग मान्ने गरिन्छ । नेपालमा पछिल्ला २ दशकमा प्रकृतिमा आधारित पर्यटनमा स्वदेशी र विदेशी पर्यटकहरू आकर्षित भैरहेका छन् ।
प्राकृतिक विविधताको अनुपम संगम बनेको नेपालका सबै भूगोल र क्षेत्रमा पर्यटकलाई खुशी बनाउन सक्ने प्राकृतिक श्रोत र त्यसमा आधारित सास्कृतिक जीवन भएकोले पर्यापर्यटनलाई नेपालको पर्यटनका नीति तथा कार्यक्रमहरूमा समावेश गर्न थालिएको छ । पर्यटन नीति २०८२ ले पर्यापर्यटनको प्रवद्र्धन गर्नको लागि पर्यटकीय वस्तुको पहिचान, विकास, प्रवर्धन र विविधीकरण गर्नु (उद्देश्य १) र दिगो र उत्थानशील पर्यटन विकास (उद्देश्य ३) गर्नुलाई मुख्य उद्देश्य बनाएको छ । नेपालको भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई उपयोग गर्दै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधीकरण गरिने (उद्देश्य १ सँग सम्बन्धित नीति), पर्यटकीय गतिविधिलाई वातावरणमैत्री, समतामुलक, जिम्मेवार बनाउदै पर्यापर्यटनको विकास तथा प्रवर्धन गरिने (उद्देश्य ३ सँग सम्बन्धित नीति) नीतिहरू प्रत्यक्ष रूपमा पर्यापर्यटन प्रवद्र्धनसंग सम्बन्धित रहेका छन् ।
यस नीतिले पर्यटकीय गतिविधिलाई वातावरणमैत्री बनाउने रणनीति अघि सारेको छ । यस रणनीति भित्र पर्यटकीय गन्तव्य स्थललाई वातावरणमैत्री बनाउदै पर्यटक तथा सेवाप्रदायकको आचारसंहिता बनाई लागु गर्ने, हरित अर्थतन्त्र तथा पर्यापर्यटनको मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, दुर्लभ र लोपोन्मुख पशुपंक्षी रहेका स्थलहरूको पहिचान गरी खुला चिडियाखाना, वनस्पति उद्यान जस्ता विशिष्ट पारिस्थितिकीय प्रणालीको संरक्षण, संवर्धन र प्रदर्शन स्थलको रूपमा विकास गर्ने र सामाजिक, सांस्कृतिक र वातावरणीय मूल्यको संरक्षण र प्रवर्धन गर्न पर्यटकको संख्यात्मक भन्दा गुणात्मक वृद्धिमा प्राथमिकता दिइने कुरामा जोड दिएको पाइन्छ ।
मध्यवर्ती क्षेत्र र सामुदायिक वन समुहहरू मार्फत स्थानीय समुदायले पर्या पर्यटनतर्फ पाइला बढाएपछी वन ऐन २०७६ मा वातावरणीय सेवा अन्तर्गत पर्यापर्यटनलाई समावेश गरिएको छ । वन ऐनले सामुदायिक वन उपभोक्ता समुहहरूलाई आफ्नो वनभित्र पर्यापर्यटनका कार्यहरू गर्न पाउने अधिकार प्रदान गरेको छ । सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्नका लागि सामुदायिक वनको कार्ययोजनामा अनिवार्य रूपमा पर्यापर्यटन सम्बन्धी विवरण, क्षेत्र, र सञ्चालन विधि समावेश गरी डिभिजन वन कार्यालयबाट स्वीकृत गराउनुपर्छ । स्वीकृत कार्ययोजना भित्र रहेर सामुदायिक वन उपभोक्ता समूहहरूले वन विहार, जलविहार, चरा तथा वन्यजन्तु अवलोकन, पर्यावरण ट्रेकिङ (पदमार्ग निर्माण), र जैविक विविधता संरक्षण जस्ता पर्यटन गतिविधिहरू सञ्चालन गर्न पाउने व्यवस्था ऐनले गरेको छ ।
अहिले धेरै सामुदायिक वन समुहहरूले वनका काठपात बेचेर भन्दा पर्या पर्यटनबाट लाभ लिन सकिने सम्भावना देखेकोले यसतर्फ अग्रसर समेत भैरहेका छन् । स्थानीय सरकारहरूले समेत पर्यापर्यटनका कामहरू गर्न र आम्दानी गर्न पाउने व्यवस्था प्रचलित ऐन कानुनले गरेकोले धेरै पालिकाहरूले यस क्षेत्रमा समुदायसंग सहकार्य र लगानी गरिरहेको देखिन्छ । नेपालमा पर्यापर्यटनलाई पर्यटनको मुख्य क्षेत्र बनाउने उत्साह देखिएको भएपनि अहिलेसम्म यसका भरपर्दा आधारहरू तयार हुन सकेका छैनन् । प्राकृतिक र साँस्कृतिक अवस्थामै पर्यटकहरूलाई भूलाएर पर्यटकीय गतिविधि संचालन गर्नु यसको प्रमुख कार्य हो ।
तर पर्यापर्यटन विकास भन्दै प्राकृतिक श्रोतहरू स्वरूप परिवर्तन गर्ने, कंक्रिटका भ्यु टावर, पक्कि सडक र पैदान मार्ग निर्माण गर्ने, वनमा टहरा र होटेल निर्माण गर्ने, साँघुरो ठाउमा जनावरहरूलाई थुनेर मिनी जु बनाउने जस्ता कार्यहरू स्थानीय समुह र सरकारले गरिरहेका छन् । यस्ता कार्यले सुविधा थप्ने भन्दापनि प्रकृतिप्रेमी पर्यटकलाई विकर्षित गर्ने सम्भावना देखिन्छ । अहिले वनपाखा, खोलानदी, पहाड र हिमालमा डुल्ने आन्तरिक पर्यटकहरूको संख्या वृद्धि संगै प्रदुषण पनि बढिरहेको छ । यस्ता कार्यले कालान्तरमा समग्र पर्यटनमा नै नकारात्मक असर पुग्नेछ ।
पर्यापर्यटनले स्थानीय उत्पादन र ण्द्धद्दतिको प्रयोग गरि पर्यटन व्यवसाय संचालन गर्ने कुरालाई जोड दिएको हुन्छ । तर नेपालका पर्या पर्यटकीय सम्भाव्य स्थानहरूमा आधुनिक पद्दतिले संरचना निर्माण गर्ने, बाहिरि बस्तुहरू उपयोग गरि पर्यटकलाई सेवा प्रयोग गर्ने, स्थानीय उत्पादनको प्रयोग नगर्ने कार्यहरू भैरहेका छन् । प्रकृतिमैत्री होमस्टे हुनुपर्नेमा शहरी होटेलकै झल्को दिने आवासगृह बनाउने, जीवजन्तुको आहारविहारमा असर पुग्ने गरि हुल बाँधेर घुम्न जाने प्रवृति बढ्दो छ ।
पर्यापर्यटनको नाम भजाएर रिसोर्ट, कटेज संचालन गर्ने होहल्ला गर्ने कामहरू हुदा समुदायमा अशान्ति समेत भैरहेको छ । पर्यटकीय सम्भावनाका क्षेत्रहरूमा बाहिरी मान्छेहरूको बढी हस्तक्षेप हुँदा स्थानीय संस्कृति र सामाजिक व्यवहार मासिदै गएको छ । स्थानीय समुदायले भन्दा पनि बाहिरि व्यवसायीले पर्यटनबाट लाभ लिइरहेका छन् । पर्या पर्यटनका गतिविधिहरूमा स्थानीय सहभागिता कम हुदा प्राकृतिक श्रोतको संरक्षण र दिगो पर्यटनका सम्भावनाहरू कमजोर हुदै गएका छन् । यस्ता गतिविधिहरूले पर्यापर्यटनलाई विकास गर्ने र लाभ लिने कुरै छोडौ, हाल प्राप्त पर्यटकीय लाभ समेत गुम्ने खतरा बढेको छ ।
नेपालको प्रकृति नै यहाँको पर्यटनको मुख्य आधार हो । तर, पछिल्ला वर्षहरूमा दोहोरीईरहेका प्राकृतिक विपत्तिले प्रकृतिलाई नराम्ररी खलबल्याएको छ । पर्यटकीय मौसममा धेरै ठुलो संख्यामा पर्यटकहरू हिमाली र पहाडी क्षेत्रमा जाने गरेका छन् । धेरै पर्यटक जान चाहने यहि क्षेत्र नै विपत्तिमा परेको देखिन्छ । भदौमा त्रिशुली र असोजमा कालीगण्डकी र मस्र्याङ्दी नदीमा आएको बाढीले थुप्रै मानिसको ज्यान गयो, सयौ पर्यटकीय संरचनाहरू ध्वस्त बनायो र सडक तथा पदमार्ग भत्कायो । यसले हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई दुःख त भएको छ नै, नेपाल पर्या पर्यटनको लागि असुरक्षित छ भन्ने सन्देह विश्वभरी जान्छ कि भन्ने आशंका उत्पन्न भएको छ ।
बारम्बार दोहोरिने प्राकृतिक प्रकोपले भूदृश्य परिवर्तन हुने, जलाधार सुख्खा हुने, जीवजन्तुको विनाश हुने, प्राकृतिक श्रोतहरू मासिने जस्ता समस्याहरू बढेका छन् । वनक्षेत्र, खोला नदि र ताल तलैयामा फोहरमैला बढ्दै गएको पाइन्छ । वनजङ्गलमा बाह्य मिचाहा वनस्पतिको फैलावट तीव्र दरमा भैरहेको छ । यसले प्राकृतिक अवस्थामै परिवर्तन ल्याउने र सुन्दरता हराउने सम्भावनालाई बढाएको छ । यस्ता कार्यहरू नरोकिएमा पर्या पर्यटनमा ठूलो चुनौती आउने निश्चित छ । जलवायु परिवर्तनको असर नेपालको पर्यापर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा पर्न थालेको छ । नेपालमा धेरै पर्यटकलाई आकर्षित गर्ने भनेको नेपालको सेता हिमालहरू हुन् ।
विस्वव्यापी उष्णीकरणले गर्दा हिमाल पग्लने क्रममा तीव्रता आएको छ भने हिमपात पनि कम हुन् थालेको छ । पर्यटकलाई आकर्षित गर्ने सेता हिमालहरूमा अचेल काला धब्बाहरू देखिन थालेका छन् । सेता हिमालले आफ्नो सौन्दर्य गुमाए भने हिमाल आरोहण, पदयात्रा जस्ता पर्यटकीय गतिविधिमा ठुलो झट्का लाग्ने नै छ । हिमगलन, हिमताल विस्फोटन, बाढी र पहिरो जस्ता विपत्तिले गर्दा ठुला नदीहरूमा पानीको बहावमा अनियमितता आउने र त्यसले राफ्टिङ्ग, कायकिङ्ग जस्ता नदीमा आधारित पर्यटकीय गतिविधि जोखिम बढेको छ । सामान्यतया खोला नदि, ताला तलैया, वनजंगल, जीवजन्तु र भूदृष्यको रस्वस्वादनका लागि गरिने भ्रमण नै पर्यापर्यटन हो भन्ने बुझाई रहेको छ । यस्ता प्राकृतिक श्रोतहरू हुने वित्तिकै मानिसहरूले पर्यापर्यटनको अपार सम्भावना छ भनेर गफ गर्न थालिहाल्छन् । प्रकृति हेर्नु मात्र पर्यापर्यटन हैन ।
प्रकृतिमा आधारित वस्तु तथा सेवाहरू प्रदान गरेर अतिथिहरूलाई सन्तुष्ट पार्नु, संरक्षणलाई टेवा पु¥याउनु, पर्यटनबाट स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासमा सहयोग पु¥याउनु पर्यापर्यटन भित्रका अपरिहार्य कार्य हुन् । नेपालमा अहिले पर्यापर्यटनको नाममा भैरहेका गतिविधिहरू र भैरहेका तयारीहरूले प्राकृतिक र साँस्कृतिक सम्पदालाई सुरक्षित राखेर दिगो लाभ लिन नसकिने संकेतहरू देखिएका छन् । यहाँको लागि पूर्वाधार निर्माणमा विशेष सजगता अपनाउनु पर्छ । पर्यापर्यटन कृषि, वन र जलश्रोतसंग प्रत्यक्ष जोडिने भएकोले ति चार क्षेत्रहरूले दिगो पर्यटनका एकीकृत योजना बनाएर अघि बढ्नुपर्छ. । ग्रामिण पर्यटन र सास्कृतिक पर्यटनलाई आधार बनाएर प्रकृतिसंग सामिप्यता राखेर पर्यटकीय गतिविधिहरू संचालन गर्ने कुरालाई सरकार र पर्यटन व्यवसायी दुबैले मूल मन्त्र बनाउनु पर्छ ।
प्रकृतिको क्षमता र स्थानीयको जीवन पद्धति बुझेर त्यसै अनुसारको पर्यटनलाइ अघि बढाउँ सकेमा मात्र प्रकृति र सस्कृतिलाई जोगाउदै पर्यटकीय लाभ लिन सकिनेछ ।