© 2026
आज तिहारको तेश्रो दिन अर्थात लक्ष्मी पुजा । यो दिन लक्ष्मीको विशेष पूजा गर्ने परम्परा छ । यो पर्व हरेक नेपालीहरूले घर–घरमा दिपक जलाएर हर्ष उल्लासले मनाउने गर्दछन् । हरेक मानवको मानविय मूल्य, मान्यता र चरित्र पतन हुदैँ गईरहेको परिवेशमा दिपावलीले समाजमा व्याप्त विकृती अन्त्य गरेर सामाजिक सदभाव कायम राख्न प्रेरणा दिने गरेको छ । आईतबार विहान भने कुकुर तिहार परेकोमा विहान कुकुरको पुजा गरिएको छ । तिथी घटबढ भएकमा कारण साँझ भब्यरूपमा लक्ष्मीपुजा गरिएको छ ।
दिपावलीको पाँच दिनको आ– आफ्नै महत्व छ । हरेक चाडपर्वको पछाडि आफ्नै किसिमको आध्यात्मिक रहस्य लुकेको परिस्थितिमा दिपावलीको रहस्यमयी संस्कृतिलाई आम नेपालीको हितमा प्रयोग गर्नु जरुरी छ । अनिमात्र चाडपर्वको महत्व र गरिमा अभिबृद्धि हुन सक्छ । त्यसका लागि आफूमात्र होइन समाजमा व्याप्त गलत संस्कृतिको अन्त्य गर्दै मौलिक रीतिथीतिको जगेर्नामा जोड दिनु जरुरी छ । पौराणिक मान्यता अनुसार तिहारमा मूख्यतः महालक्ष्मीको पूजा आराधना हुने गर्दछ । लक्ष्मी पूजाको दिन बिहान गाईलाई पूजा गर्न घर आँगनमा हरियो गोबरले लिपेर सफा पारिन्छ ।
लिपेको ठाउँमा चामलको पिठोद्वारा लक्ष्मीको पाईला बनाई आँगनदेखि ढुकुटी भण्डारसम्म पुराइन्छ । लक्ष्मी यसै पाईलामा टेक्दै आएर ढुकुटी भण्डारमा गएर बिराजमान हुनुहुन्छ भन्ने नेपालीहरूको विश्वास छ । विभिन्न प्रकारका दुःख अवरोध हटाई दाजुभाईको समृद्धि र दीर्घायू होस भन्ने कामना दिदी वहिनीले तिहारका अवसरमा गर्छन । यसका साथै दिपावली मेलमिलाप र संगमको पर्व पनि हो । दिपावलीका अवसरमा दिदी वहिनी र दाजुभाईका अतिरिक्त साथी भाईसंगै वसेर खुशी र रमाइलो गर्ने परम्परा रहेको छ । अर्कोतर्फ नेपालको संस्कृति र सभ्यता रक्षामा पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको छ । देउसी र भैलो खेलेर नेपालको संस्कृति जोगाउने काम भैरहेको छ । पुरानो संस्कृति, परम्परा जोगाउने र त्यसलाई अझै विकसित गर्ने पर्वका रूपमा तिहारको विशेष महत्व छ । तिहारकै अवसरमा देउसी र भैलोको माध्यमवाट समाजमा विकासको काम भैआएको विदीतै छ ।
केही बर्षयता तिहारको महत्व अन्तर्राष्ट्रियरूपमै बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत दिपावली मनाएका छन् । धर्मको मानमर्दन भैरहेको अवस्थामा तिहारको महत्व कति त भन्ने कुराको यो एक उदाहरण हो । यो अवस्थामा नेपालीहरूले नै हो– आफ्नो संस्कार र संस्कृतिको रक्षा गर्ने र परम्परा जोगाउने । त्यसका लागि फेरीपनि दिपावलीको महत्वलाई आम मानिससम्म पु¥याउने र चाडपर्वलाई कम खर्चिलो हुने गरी मनाउने गरि वैज्ञानिक परम्परा स्थापित गर्नु जरुरी छ । वास्तवमा यी संस्कारहरू हाम्रो दैनिकी पनि वनेको छ ।
यिनै संस्कृतिका माध्यमवाट मित्रता, सुख, दुःख र आँशु र हाँसो बाँडने माध्यमपनि वनेको छ । अझै तिहारलाई मित्रताको एउटा महत्वपूर्ण पर्वको रूपमा लिने गरिएकोले यस पर्वको श्रीवृद्धिमा हामी सवैको ध्यान पुग्नु जरुरी छ । तिहार पर्वले हर्ष पनि बढाएको छ । तर यही तिहार पर्व कसैका लागि भने अभिषाप पनि वनेको छ । तिहारमा जुवातासकै कारण कतिपय घर परिवारको बिचल्ली हुने गरेको छ । पहिले जुवातासकै कारण कैयौ घर परिवार जोगी भएको सुन्ने गरिन्थ्यो तर अहिले त्यस्तो छैन तरपनि जुवातासकै कारण घर परिवार समस्यामा परेको अहिलेपनि सुन्ने गरिएको छ ।
पटाका लगायत आतिसबाजीकै कारण कैयौं बालबालिका गंभीर घाईते समेत हुने गरेको अवस्था छ । त्यसकारण दिपावलीलाई आफ्नो परम्परा र धर्म संस्कृति संरक्षण गर्ने अवसर र माध्यमका रूपमा मनाउनेतर्फ ध्यान पुगोस् । तिहारको मौलिक परम्परालाई जोगाउँदै संस्कृति संरक्षणको रूपमा यो पर्व मनाउनु पर्दछ । तिहार अर्थात दिपावलीले सम्मृद्धि, सुख शान्ति र आरोग्यता ल्याओस् । सवै नेपालीहरूमा शुभकामना ।