© 2026
बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तरीय उत्पादन र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ड्याडिज ग्रुपले बुटवलबाट ‘ड्याडिज केक प्रिमियम बेकरी’ सञ्चालनमा ल्याएको छ । करिब ६ करोड रूपैयाँ लगानीमा स्थापना गरिएको बेकरीको सफ्ट ओपनिङ गरिएको हो ।
फ्रेन्च बेकरी परम्परा, हस्तनिर्मित बेकिङ कला र आधुनिक प्रविधिको संयोजनमा विभिन्न प्रकारका बेकरी परिकार उत्पादन तथा बिक्री गर्ने लक्ष्यसहित सेवा सुरु गरिएको सञ्चालकले बताएका छन् ।
बेकरीका उत्पादनलाई गुणस्तरीय र विशिष्ट बनाउन आधुनिक इटालियन प्रविधिका मेसिन तथा उपकरण प्रयोग गरिएको ड्याडिज किचेनका सञ्चालक कमलजंग कुँवरले जानकारी दिए । उनका अनुसार फ्रेन्च बेकरीमा प्रयोग हुने टी–४५ र टी–५५ ग्रेडका पिठो तथा विशेष प्रकारका कच्चा पदार्थ प्रयोग गरी परिकार तयार गरिनेछ ।
उत्पादनमा कृत्रिम सामग्रीको प्रयोग कम गर्दै दूधबाट बनेको वास्तविक नौनी, प्राकृतिक फलफूल, सुक्खा फल तथा प्राकृतिक रङ र सजावटका सामग्रीलाई प्राथमिकता दिइएको कुँवरले बताए । स्वादसँगै उत्पादनको गुणस्तर, बनावट र स्वास्थ्यकर पक्षमा ध्यान दिइएको उनको भनाइ छ ।
बेकरी र क्याफे संस्कृतिलाई एउटै स्थानमा समेट्ने गरी बुलान्जरी, भिएनोइजेरी, विभिन्न प्रकारका पेस्ट्री, चिजकेक, विशेष केक तथा कफी र मकटेललगायत पेय पदार्थ उपलब्ध गराइएको छ ।
उद्योग सञ्चालनसँगै ६० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थानीय स्तरका बेकरीकर्मी तथा नयाँ प्रतिभालाई अवसर दिने र आफ्नै अनुसन्धान तथा विकास टोलीमार्फत उत्पादनको स्वाद र गुणस्तरमा निरन्तर सुधार गर्ने योजना रहेको कुँवरले बताए ।
कम्पनीले आगामी एक वर्षभित्र रूपन्देहीका विभिन्न स्थानमा १८ वटा साना बिक्री केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । त्यसपछि पोखरा र काठमाडौंमा समेत सेवा विस्तार गर्ने योजना रहेको छ । निकट भविष्यमै चौबीसै घण्टा सेवा उपलब्ध गराउने तयारीसमेत कम्पनीले गरेको जनाएको छ । रेस्टुरेन्ट, मोटरगाडी, घरजग्गालगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको ड्याडिज ग्रुपले हालसम्म १ हजार २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जनाएको छ । बुटवलबाट सुरु गरिएको प्रिमियम बेकरी व्यवसायलाई विस्तार गर्दै नेपाली बजारमा गुणस्तरीय बेकरी उत्पादनको नयाँ पहिचान स्थापित गर्ने कम्पनीको लक्ष्य छ ।
बेकरीमा फ्रान्सेली शैलीका पाउरोटी तथा पेस्ट्री, विभिन्न प्रकारका केक, बिस्कुट, चिजकेक र विशेष पेय पदार्थ उत्पादन तथा बिक्री गरिने कम्पनीले जनाएको छ । उत्पादनमा उच्च गुणस्तरका कच्चा पदार्थ, आधुनिक उपकरण र दक्ष जनशक्तिको प्रयोगलाई प्राथमिकता दिइएको छ ।
बेकरीका उत्पादनमा बहुअन्नयुक्त पाउरोटी, खमिरबाट तयार गरिने पाउरोटी, क्रोइसाँ, चकलेट पेस्ट्री, विभिन्न स्वादका केक, चिजकेक तथा बिस्कुट समावेश छन् । त्यस्तै, कफी र अन्य विशेष पेय पदार्थसमेत उपलब्ध गराइनेछ ।
ड्याडिज ग्रुपले आफ्नो बेकरी व्यवसायलाई आगामी दिनमा विस्तार गर्ने योजना पनि अघि सारेको छ । कम्पनीले रूपन्देहीसहित विभिन्न सहरमा १८ वटा साना बिक्री केन्द्र विस्तार गर्ने लक्ष्य राखेको छ । पोखरामा नयाँ बिक्री केन्द्र तथा संरचना निर्माणको काम अघि बढिरहेको र काठमाडौँमा पनि विस्तारको तयारी भइरहेको कम्पनीको भनाइ छ ।
निकट भविष्यमा चौबिसै घण्टा सञ्चालन हुने बेकरी सेवा सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।