Butwal Today

 गुल्मीमा ठुलो परिमाणमा पटाका बरामद, दुई जना पक्राउ

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

गुल्मी । 

गुल्मीमा प्रतिबन्धित पटाकाजन्य विस्फोटक पदार्थ बिक्रीका लागि राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ खानीगाउँ स्थित दुई वटा पसलमा छापा मारेर प्रहरीले ठुलो मात्रामा पटाका बरामद गर्नुका साथै पसल सञ्चालकलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार बिहान माइला जनरल स्टोर र जागृती सप्लायर्समा छापा मारेको थियो । प्रहरीले माइला जनरल स्टोर सञ्चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–२ मुसहरी घर भई हाल खानीगाउँ बस्दै आएका २८ वर्षीय कृष्ण शाहलाई पक्राउ गरिएको छ । प्रहरीले उक्त पसलबाट मिनी बुलेट १० प्याकेट, किङ कोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरेको छ ।

त्यसै गरी जागृती सप्लायर्सका सञ्चालक गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुम घर भएका २१ वर्षीय निशान्त पुनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पुनको पसलबाट मिनी बुलेट चार प्याकेट, किङ कोब्रा ११ प्याकेट र झिरझिरे १३ वटा बरामद गरेको जनाएको छ ।

बरामद गरिएका पटाका सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?