© 2026
हेटौँडा ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।
“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भनेका छन् । उनले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताए ।
पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका रूपमा प्रस्तुत गर्दै उहाँले नारी शक्तिप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । “स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता”, उनले भने ।
मुख्यमन्त्री थापामगरले धार्मिक आस्था र दैनिक व्यवहारमा एकरूपता हुनुपर्ने उल्लेख गर्दै महिलाको सम्मानलाई पूजा र शुभकामनामा मात्र सीमित नराख्न आग्रह गरेका छन् । उनले नारी सम्मानको सन्देश बोकेको तिहार महिला उत्थानको आधार बन्ने विश्वास व्यक्त गर्दै लक्ष्मीपूजाका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।