Butwal Today

शिक्षकले किताब पढाउँछन्, धर्मले जीवन पढाउँछ : पूर्वमन्त्री केसी

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

पूर्वमन्त्री अर्जुन कुमार केसीले धार्मिक तथा आध्यात्मिक संस्थाले शिक्षाको विकासमा पनि योगदान दिनुपर्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ र ४ स्थित स्वर्गद्वारी आश्रम बालहंस साङ्ग्वेद आश्रमको २७औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै उनले बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिनुपर्नेमा केसीले जोड दिए । आश्रमलाई धार्मिक गतिविधिसँगै शैक्षिक र सामाजिक सेवाको केन्द्र बनाउनुपर्ने उनले बताए । “शिक्षकले किताब पढाउँछन् तर धर्मले जीवन पढाउँछ । दुवैको भूमिका मानिसलाई असल, सभ्य र जिम्मेवार बनाउन उत्तिकै महत्त्वपूर्ण छ” उनले भने । विद्यार्थीमा अनुशासन, नैतिकता र असल संस्कार विकास गर्नुपर्ने पूर्वमन्त्री केसीको भनाइ छ । शिक्षित र संस्कारयुक्त पुस्ताले मात्रै सभ्य समाज निर्माण गर्न सक्ने उनले उल्लेख गरे ।

यसैबिच शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आश्रमको धार्मिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै यसको विकास र प्रवर्द्धनमा सहयोग र सहकार्य आवश्यक रहेको बताए । यसैबिच विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले धार्मिक तथा आध्यात्मिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुने बताए ।

आश्रमको आयोजना अनुसार आगामी मङ्सिर १९ गतेदेखि महायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञमार्फत धार्मिक तथा आध्यात्मिक गतिविधिलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ । आश्रमका अध्यक्ष चुडामणि पोख्रेलले संस्थाको वर्तमान अवस्था, भावी योजना तथा महायज्ञ आयोजनाबारे शनिवार जानकारी गराउँदै महायज्ञ सफल बनाउन सबैको साथ र सहयोगका लागि आग्रह गरे । गत आर्थिक वर्षमा ४४ लाख ५१ हजार ९४४ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?