Butwal Today

सल्यानमा विद्यार्थीको सेरेङ्गे नाचसहित देउसीभैलो सुरु

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

सल्यान ।

तिहारको रौनकसँगै सल्यानको छत्रेश्वरीमा मौलिक लोक संस्कृति संरक्षणको सन्देश बोकेको देउसी भैलो सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका, ५ लेखपोखरा स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय चौरपानीले यस वर्ष सेरेङ्गे (मयूर) नाचलाई प्राथमिकता दिँदै देउसी भैलो कार्यक्रम सुरु गरेको हो ।

विद्यालयका विद्यार्थीले सेरेङ्गे नाच सहित देउसीभैलो खेल्न थालेपछि तिहारको रमाइलोसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासले समेत निरन्तरता पाएको हो । विद्यालयले यस वर्षको देउसी भैलो कार्यक्रम स्थानीय समाजसेवी रमेश बुढाको ढोरेनीस्थित घरबाट सुरु गरेको हो ।

पछिल्लो समय आधुनिक गीत सङ्गीत र मनोरञ्जनका नयाँ शैलीको प्रभाव बढ्दै जाँदा परम्परागत लोक नाच तथा संस्कृति प्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको पाइन्छ । यस्तो अवस्थामा विद्यार्थीले सेरेङ्गे नाच सिकेर सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्न थालेको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले जनाए । मौलिक कला र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै उनले नयाँ पुस्तालाई परम्परागत नाच र संस्कृतिसँग जोड्न सके मात्रै पुस्तौँदेखि चल्दै आएका मौलिक पहिचानलाई निरन्तरता दिन सकिने बताए ।

त्रिज मावि चौरपानीका विद्यार्थीले केही समय अघि सेरेङ्गे नाचको प्रशिक्षण लिएका थिए । प्रशिक्षक विजय घर्तीबाट नाचका चाल, ताल र प्रस्तुति शैली सिकेका विद्यार्थीले अहिले वडाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइरहेका छन् । विद्यालय परिसरमा सिकेको सीपलाई सार्वजनिक मञ्चसम्म पुर्‍याउन थालेपछि विद्यार्थीमा समेत मौलिक संस्कृति संरक्षणप्रति उत्साह बढेको छ ।

यस अभियानलाई सफल बनाउन स्थानीय रमेश बुढाले महत्वपूर्ण सहयोग गरेका छन् । नाच प्रदर्शनका लागि आवश्यक सामग्रीको व्यवस्थापन उनैले गरिदिएका हुन् ।

सेरेङ्गे नाच सल्यान सहित रुकुम र रोल्पा क्षेत्रमा प्रचलित पुरानो लोकनृत्य हो । मयूरका प्वाँखबाट तयार गरिएको विशेष सामग्री पछाडि बाँधेर समूहमा प्रस्तुत गरिने यो नाच धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवमा प्रदर्शन गर्ने परम्परा छ । यसको मौलिकता नाचका चाल, समूहगत तालमेल, भेषभूषा र परम्परागत बाजागाजासँग जोडिएको हुन्छ ।

तर, यस्तो नाचका लागि आवश्यक सामग्री तयार गर्नुपर्ने, प्रशिक्षक तथा अनुभवी कलाकारको उपलब्धता हुनुपर्ने र समूहगत अभ्यास आवश्यक पर्ने भएकाले यसको निरन्तरता सहज छैन । पुराना पुस्तामा सीमित रहेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा मौलिक कला हराउने जोखिम बढ्दै गएको छ । यही चुनौतीका बीच विद्यार्थीलाई प्रशिक्षण दिएर सार्वजनिक कार्यक्रममा सहभागी गराउनु संस्कृतिको पुस्तान्तरणका दृष्टिले अर्थपूर्ण मानिएको छ ।

बालबालिकालाई सानै उमेरदेखि आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग परिचित गराउनु आवश्यक रहेको संस्कृत प्रेमीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?