© 2026
सल्यान ।
मेहनतको फल मिठो हुन्छ भन्ने उखान त्यसै बनेको होइन । यो उखान सल्यानका नवराज वलीको मेहनतसंगै ठ्याक्कै मेल खान्छ र उनको संघर्ष सुन्दा साँच्चै आश्चर्य लाग्छ । १० बर्षअघि स्थापना गरेको सानो फर्म आज अन्तरजिल्ला विस्तार भैसकेको छ । यो उनै वलीको कडा मेहनत र परिश्रमको प्रतिफल हो । करिब १० वर्षअघि पाँचलाख रुपैयाँको लगानीमा वली नर्सरी फर्म स्थापना गरेका सल्यानका नवराज वली आफैलाई पनि लागेको थिएन– यतिछिटै ४० जिल्लामा आफ्नो उत्पादन पुग्छ भन्ने । तर, मेहनत, लगनीशलता र केही गरौं भन्ने हुटहुटी हुने हो भने सफलता हात पर्छ भन्ने कुराको उनी साक्षी बनेका छन् ।
सल्यानबाट सुरु भएको वलीको उद्यमशीलताको यात्रा अहिले जिल्ला जिल्ला पुगेको छ । अहिले सल्यानमा रहेको उनको नर्सरीले करिब १५ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूल तथा घाँसका बिरुवा उत्पादन गर्दै आएको छ । कृषिमा सम्भावना खोज्दै गाउँबाट सुरु गरिएको एउटा सानो प्रयास अहिले अन्तरजिल्ला बजारसम्म फैलिएको छ । सल्यानमा फलफूल तथा जडीबुटीका बिरुवा उत्पादन र वितरण गर्दै आएका वलीले दाङमा फूलखेती विस्तार गरेर आफ्नो व्यवसायलाई नयाँ आयाम दिएका छन् ।
४० जिल्लामा विभिन्न विरुवा पठाउँदै आएका सल्यानका यी युवा उद्यमीले दिपावलीलाई लक्षित गर्दै दाङमा ११ क्विन्टल सयपत्री फुलाएका छन् । उनले अहिले देशका करिब ४० जिल्लामा फलफूल तथा विभिन्न प्रजातिका बिरुवा पु¥याउँदै आएका छन् । बिरुवा उत्पादनमा आफ्नो पहिचान बनाएका सल्यानको बागचौर नगरपालिका ९ निवासी ३५ वर्षिय वलीले पछिल्लो तीन वर्षदेखि दाङमा समेत विरुवा उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाएका छन् । यस वर्ष तुलसीपुरमा उनले सयपत्री फूल खेती पनि गरेका छन् ।

उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ८, दुधेनमा सञ्चालन गरेको ओली एग्रो एन्ड नर्सरी फर्ममा यस वर्ष सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेका छन् । करिब एक हजार २०० बिरुवा रोपेर सुरु गरिएको खेतीबाट यस वर्ष झन्डै ११ क्विन्टल फूल उत्पादन भएको छ ।
तिहार नजिकिएसँगै फर्मले सयपत्री फूलको अग्रिम बुकिङसमेत खुला गरेको छ । तिहार, विभिन्न पूजा, समारोह तथा विशेष कार्यक्रमका लागि आवश्यक फूल थोक तथा खुद्रा बिक्री गर्ने तयारी गरिएको छ । ग्राहकको माग अनुसार फूल उपलब्ध गराउने गरी अग्रिम अर्डर लिन थालिएको छ ।
वलीका अनुसार गत वर्ष सयपत्री फूल प्रतिकिलो ४५० रुपैयाँभन्दा बढीमा बिक्री भएको थियो । तर, यस वर्ष सबैतिर उत्पादन बढेकाले मूल्य केही घट्न सक्ने अनुमान छ । उत्पादन राम्रो हुनु सकारात्मक भए पनि त्यस अनुसार बजार व्यवस्थापन गर्न नसकिए किसानले अपेक्षित मूल्य नपाउने चुनौती रहने उनको भनाइ छ ।
दुधेनमा वलीले तीन वर्षदेखि नर्सरी तथा फूलखेती सञ्चालन गर्दै आएका छन् । यहाँ करिब १४ कठ्ठा जमिनमा विभिन्न प्रजातिका बिरुवा उत्पादन र फूलखेती हुँदै आएको छ । बिरुवा उत्पादनसँगै फूलखेतीलाई पनि व्यवसायको अर्को सम्भावनाका रूपमा अघि बढाउने उनको योजना छ ।
नर्सरीमा सुन्तला, कागती, टिमुर, ओखर, किवीलगायत फलफूल तथा विभिन्न प्रजातिका घाँसका बिरुवा उत्पादन हुन्छन् । कलमी र बिजु दुवै प्रकारका बिरुवा उत्पादन गर्दै आएको फर्मले देशका करिब ४० जिल्लामा बिरुवा पठाउने गरेको छ । नर्सरीबाट वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार हुने गरेको वलीले बताए । वलीले भने– “सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेको थिएँ । विस्तारै अनुभव र बजारको माग बुझ्दै जाँदा व्यवसाय पनि विस्तार हुँदै गयो । अहिले देशका विभिन्न जिल्लामा बिरुवा पठाउन पाउँदा खुसी लाग्छ । मेहनत र निरन्तरताले कृषिमा पनि राम्रो सम्भावना छ भन्ने अनुभव गरेको छु ।”
सुरुमा सीमित लगानीबाट थालिएको व्यवसायलाई विस्तार गर्दै देशका विभिन्न जिल्लासम्म बजार बनाउन सफल भएका वली अब नर्सरीलाई थप विविधीकरण गर्ने योजनामा छन् । परम्परागत फलफूलका बिरुवासँगै बहुमूल्य जडीबुटी र सजावटका बिरुवा उत्पादन गर्ने तयारीसमेत उनले गरेका छन् ।
“अब नर्सरीलाई अझ व्यवस्थित र फराकिलो बनाउने योजना छ । बजारमा माग रहेका बहुमूल्य जडीबुटी र सजावटका बिरुवाको उत्पादन पनि सुरु गर्ने सोँचमा छु । किसानलाई गुणस्तरीय बिरुवा उपलब्ध गराउनुका साथै कृषि व्यवसायलाई थप रोजगारी र आम्दानीसँग जोड्ने मेरो लक्ष्य हो,” उनले भने ।
तिहारमा सयपत्री फूलको माग बढ्ने समयमा स्थानीयस्तरमै उत्पादन भएको फूल बजारमा पु¥याउने उनको प्रयास छ ।