© 2026
बुटवल ।
तिलोत्तमा व्यापार संघमा आबद्ध महिला सदस्यहरूले तिहारको अवसरमा पुरुष दाजुभाइका लागि शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।
दिदीबहिनी र दाजुभाइबिचको आत्मीयता, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले शनिबार तिलोत्तमा–६ स्थित कुञ्जपार्कमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संघमा आबद्ध महिला सदस्यहरूले पुरुष दाजुभाइहरूलाई तिहारको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव र आत्मीयता साटासाट गरेका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष झविन्द्रप्रसाद कँडेलले तिहारले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । उनले महिला सदस्यहरूले पुरुष दाजुभाइलाई लक्षित गरी आयोजना गरेको यस्तो कार्यक्रमले व्यावसायिक सम्बन्धलाई पारिवारिक आत्मीयतामा रूपान्तरण गर्न सहयोग पुग्ने धारणा राखे ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले व्यवसायका क्रममा जोडिएका सम्बन्धलाई सामाजिक र पारिवारिक आत्मीयतासँग जोड्नु सकारात्मक पक्ष भएको बताए । उनले महिला सदस्यहरूको सक्रियतामा आयोजित कार्यक्रमले संघमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीबिच आपसी विश्वास, सद्भाव र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गरे ।
आर्थिक सल्लाहकार नुमेन्द्र पौडेलले व्यापार व्यवसायमा एकअर्काको सहयोग र सहकार्य आवश्यक हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्थाभित्रको एकतालाई बलियो बनाउने बताए । उनले चाडपर्वलाई आपसी सम्बन्ध नवीकरण र आत्मीयता अभिवृद्धिको अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।
कार्यक्रम संयोजक सुना थापाले तिहारको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै संघमा आबद्ध पुरुष दाजुभाइसँग खुसी साटासाट गर्ने र आत्मीय सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले महिला सदस्यहरूको पहलमा गरिएको यस कार्यक्रमले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध थप सुमधुर बनाउने विश्वास व्यक्त गरिन् ।
संघकी सदस्य भगवती कुमारी पाण्डेले चाडपर्वले परिवार र समाजमा आपसी प्रेम, सद्भाव र एकताको भावना विकास गर्ने बताइन् । उनले संघमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीबिच पारिवारिक वातावरणमा भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसर जुट्नु खुसीको विषय भएको उल्लेख गरिन् ।
सदस्य तारा सुनारले चाडपर्वका अवसरमा गरिने यस्ता कार्यक्रमले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै आपसी माया, विश्वास र सद्भाव बढाउन सहयोग पुग्ने बताइन् । कार्यक्रमका लागि सुना थापा संयोजक र दिलमाया पुन सहसंयोजक तथा बबिकुमारी भट्टराई, भगवती कुमारी पाण्डे, तारा सुनार, भगवती घर्ती, पार्वती गिरी र दिलमाया राना सदस्य रहेको समिति समेत गठन गरिएको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष, वर्तमान तथा पूर्वपदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार र संघमा आबद्ध महिला तथा पुरुष व्यवसायीहरूको सहभागिता रहेको थियो ।