Butwal Today

गौतमबुद्ध विमानस्थलबारे ‘गुड न्यूज’ आउँदै छ : सांसद अग्रवाल

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

भैरहवा ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा छिट्टै सकारात्मक खबर आउने प्रतिनिधिसभा सदस्य पूनम कुमारी अग्रवालले बताएकी छन् । उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणबाट हवाई रुट तथा विमानस्थल सञ्चालनका विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको बताएकी हुन् ।

चेम्बर अफ कमर्स रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताईन । उनले विमानस्थल सञ्चालनका लागि आफूले संसदमा पाँच पटकसम्म आवाज उठाइसकेको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर रहेको दाबी गरिन् ।

“हामी एकदमै छिट्टै गुड न्यूज पाउनेवाला छौँ । त्यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको प्रतीक्षा गर्नुपर्नेछ,” उनले भनिन् । उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएको समस्या केवल विमानस्थल निर्माण वा पूर्वाधारको विषय मात्र होइन, हवाई रुट, प्राविधिक सहजता, अन्तर्राष्ट्रिय एयरलाइन्सको आकर्षण र निजी क्षेत्रको सहभागितासँग पनि जोडिएको छ । यी विषयमा सरकार र सम्बन्धित निकायले समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

सांसद अग्रवालले रुपन्देही क्षेत्र नम्बर ३ का अन्य विकास निर्माणका काम महत्वपूर्ण भए पनि आफ्नो सबैभन्दा ठूलो प्राथमिकता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन रहेको स्पष्ट पारिन् ।

विगत १४–१५ वर्षदेखि भैरहवा क्षेत्रको विकासलाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनले काठमाडौं पछिको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिएको यस विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताइन् ।

“विमानस्थल नचलेको पनि होइन, चार वर्ष भयो सञ्चालनमा आएको छ । फ्लाई दुबई, थाई एयर र जजिराजस्ता अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान पनि भएका हुन् । तर ती उडान निरन्तर हुन सकेनन्,” उनले भनिन् ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै नहुने अवस्था नरहेको तर नियमितता कायम गर्न नसक्नु मुख्य चुनौती भएको उनको विश्लेषण थियो । यसका लागि प्राविधिक समस्या, हवाई रुट र एयरलाइन्सलाई आवश्यक पर्ने व्यावसायिक वातावरणबारे गम्भीर समीक्षा गर्नुपर्ने उनले बताईन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्नुमा भारतीय हवाई क्षेत्रको प्रयोग र हवाई रुटको सहजताको विषय पनि महत्वपूर्ण रहेको सांसद अग्रवालको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई यसै सन्दर्भमा महत्वपूर्ण अवसरका रूपमा हेर्दै उनले दुई देशबीचको उच्चस्तरीय छलफलबाट हवाई रुटसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

गोरखपुरस्थित भारतीय सैन्य विमानस्थल तथा त्यससँग जोडिएका सुरक्षा चासोका विषयमा पनि नेपालले संवेदनशील भएर छलफल गर्नुपर्ने उनको भनाइ थियो । तर यस्ता विषयलाई राजनीतिक वा चुनावी स्वार्थका लागि मात्र उठाउनेभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने उनले बताईन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न सरकारी प्रयाससँगै पर्यटन व्यवसायी, उद्योगी, होटल व्यवसायी र अन्य सरोकारवालाले पनि बजार निर्माणमा भूमिका खेल्नुपर्ने उनले बताईन् ।

“काठमाडौंमा जसरी विमानस्थल चलेको छ, त्यसरी नै भैरहवामा पनि तत्काल त्यही स्तरको उडान हुन्छ भनेर व्यवसायीले सोच्नु हुँदैन । सुरुमा उत्पादन हुन्छ, त्यसपछि मार्केटिङ र विभिन्न सुविधा दिनुपर्छ । त्यसपछि मात्रै त्यो फस्टाउँछ,” उनले भनिन् ।

चेम्बर अफ कमर्श रुपन्देहीको अध्यक्ष सचिन रोक्काको अध्यक्षता र महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देहीका उद्योगी ब्यवसायी, पर्यटन ब्यवसायीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?