© 2026
बुटवल । मादकपदार्थको जोखिमबाट बालबालिका जोगाउन सबैको सामुहिक प्रयास आवश्यक रहेको सरोकारवालहरूले बताएका छन् । पछिल्लो समयमा धेरै बालबालिकाहरू कुलतमा फस्ने गरेको भन्दै कुलतबाट बालबालिकाहरूलाई जोगाउन निकै कठिन अवस्था सृजना भएको शुक्रबार बुटवलमा सिविन नेपालले आयोजना गरेको मदिराको नियमन र नियन्त्रणमा सरोकारवाला निकायको भुमिका सम्बन्धी छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहले गर्नु पर्ने कामहरू गरे पनि प्रयाप्त नभएको बताए । उनले पहिलो संरक्षण र रेखदेखको जिम्मेवारी घर परिवारको हुने भएकाले यस्ता विषयमा परिवार गम्भिर बन्ने हो भने धेरै समस्या समाधान हुने बताए । नगर उपप्रमुख सावित्रादेवी अर्यालले संघिय सरकरारले कडा कानुन बनाएर त्यसलाई स्थानिय सरकारले कडाईका साथ लागु गर्ने र मदिरा बिक्री वितरण प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन् ।
बुटवल उपमहानगर पालिका वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाल श्रेष्ठले आर्थिक अभावका कारणले धेरै जसो समस्याहरू सृजना भएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक कल्पना घर्तीले रूपन्देहीमा मदिरा सेवनका कारण १९. ७ प्रतिशत घरेलु हिंसाका घटनाहरू भएको जानकारी दिइन् । उनले मदिराले शारीरिक तथा मानसिक समस्याका साथै प्रत्यक्ष रूपमा महिला र बालबालिका प्रभावित भएको बताइन् ।
पत्रकार कल्पना तिवारीले पत्रकारका आँखाबाट मदिराका कारण हुने घटना देखे पनि त्यसले बालबालिकालाई परेको मानसिक अवस्था देख्न नसकिएको बताइन् । मदिराका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र विकासमा प्रत्यक्ष असर पर्ने गरेको भन्दै त्यसका लागि सरोकारवालाहरूले ध्यान दिन जरुरी रहेको बताइन् ।
कार्यक्रममा सिविन नेपालका बाल हेल्प लाइन म्यानेजर भगवती श्रेष्ठ, सिवन नेपालद्वारा संचालित बालहेल्प लाइन रूपन्देहीका विण्णुमाया पौडेल, माइती नेपालका माया क्षेत्री लगायले बोलेका थिए । छलफलमा रूपन्देही कार्यक्षेत्र बनाएर सामाजिक काम गरिरहेका संघ संस्था र संचारकर्मीको सहभागिता रहेको थियो ।