Butwal Today

बेलाउतीको भारीमा गाँसिएको खुसी

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी ।
वर्षभरि सुनसान प्रायः रहने गाउँघरहरू यतिबेला चाडवाडको समयमा रमाईलो बनेको छ । तर गुल्मीको इस्मा गाउँपालिकाका कुमाल समुदायका विपन्न परिवारहरू भने चाडवाडको रौनक आफ्नै आँगनमा भित्र्याउन फरक तरिकाले संघर्ष गरिरहेका छन् । उनीहरूका लागि तिहारको खुसी घरको मझेरीमा होइन, डोकोमा बोकिएका पाकेका अम्बाका दानाहरूसँगै दिनभर सदरमुकाम तम्घासका सडकहरूमा डुलिरहेका देखिन्छन् ।

इस्मा गाउँपालिकाका विभिन्न वडामा यतिबेला बेलौती प्रशस्त फलेका छन् । गाउँका बारीमा पाकेर त्यत्तिकै खेर गइरहेका अम्बाको गाउँमा खासै महत्व र मूल्य छैन । तर तिनै बोटमा पाकेर खेर जाने अम्बा कुमाल परिवारका लागि घरको कमजोर आर्थिक अवस्था सुधार्ने बलियो सहारा बनेको छ । इस्मा–१ राहलेकी देवकुमारी कुमाल, इस्मा–५ रातामाटाकी रामकली कुमाल, नरबहादुर कुमाल र मीना मुखिया अचेल बिहानै डोकोमा अम्बाको भारी बोकेर सदरमुकाम तम्घासतिर झरिरहे प्रतिनिधिमूलक पात्र अन्तर्गत पर्दछन् ।

यी परिवार आफ्नै र छिमेकीका बारी तथा खर्याबाट टिपिएका रसिला अम्बा डोकोभरी बोकेर बिहानै घरबाट निस्कन्छन् । गाउँगाउँमा सडक र यातायातको पहुँच पुगेपछि अचेल यात्रा केही सहज त भएको छ, तर घरबाट तम्घास पुगेर फर्किदा गाडी भाडामै करिब छ सय रूपैयाँ भन्दा बढी खर्च हुन्छ । तैपनि बिहानैदेखि साँझसम्म तम्घासका चोक र गल्लीहरूमा अम्बा बेच्दा गाडी भाडा र अन्य खर्च कटाएर उनीहरूको दैनिक आठ सयदेखि एक हजार रूपैयाँसम्म बचत हुने गर्छ ।

“बारीमा त्यसै पाकेर खेर जानुभन्दा दुई पैसा आम्दानी हुन्छ,“इस्मा–१ राहलेकी देवकुमारी कुमाल भन्छिन् “अम्बा बेचेर धेरै ठूलो रकम त आउँदैन, तर चाडपर्वका बेला घरमा नुन, तेल, चिनी र मसला किन्ने खर्च भने जुट्छ ।” तम्घास बजारसम्म आईपुग्दा चार दाना अम्बाको मूल्य १० रूपैयाँमा बिक्री हुन्छ । तर डोकोमा बोकेर ल्याएको फल बेच्न उत्तिकै सकस पनि छ ।

इस्मा–५ हुलाकेका तीलबहादुर मुखिया आफ्नी श्रीमती र १० वर्षे छोरालाई समेत अम्बाको सानो भारी बोकाएर बजार झरेका छन्। “के गर्नु हजुर! दसैँमा नुन–तेल किन्ने र बाबुका लागि कपी–कलम किन्ने दुई–चार पैसा आउँछ कि भनेर आएका हौँ,”उनले भने । तीलबहादुरको मुहारमा एकातिर गरीबि र अभाव स्पस्ट झल्कीन्छ भने अर्कोतिर अलिअलि आशाको किरण ।अम्बा बेच्न बजार डुल्दा कतिपय ग्राहकले मेहनत र दुःख नबुझी धेरै मोलमोलाइ गर्दा उनीहरूको मन अमिलो हुन्छ । तर केही ग्राहक भने धेरै कुरा नगरी खुरुखुरु बेलाउती किनेर लैजान्छन् । दिनभर अम्बा बिक्रीबाट जम्मा भएको थोरै रकम बोकेर, तिहारका लागि आवश्यक नुन, तेल र चिनीको पोको साथमा लिई उनीहरू गाउँ फर्किन्छन् ।

अम्बा बिक्रीबाट ठूलो आर्थिक समस्या त सुल्झिँदैन, तर इस्माका कुमाल समुदायका लागि बारीमै खेर जाने मौसमी फल चाडपर्वमा खुसी जुटाउने सानो माध्यम बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?