काठमाडौँ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यसैगरी धन त्रयोदशी पर्व पनि आजै परेको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २१ गते शनिबार परेको समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।
“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातस् कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। उनका अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक २२ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष भट्टराईले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान पनि भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता रहेको उनले उल्लेख गरे ।
गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म ९म्ह० पूजा कात्तिक २४ गते मङ्गलबार परेको समितिले जनाएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्हस्) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४७ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीको उत्तम साइत कात्तिक २५ गते ११:०७ बजे
कात्तिक २५ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:०७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २५ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।