Butwal Today

सल्यानमा राती १० बजेपछी देउसी भैलो खेल्न नपाइने

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा देउसी, भैलो सहितका चाडपर्व लक्षित कार्यक्रम राति १० पछि सञ्चालन गर्न नपाइने भएको छ । स्थानीय प्रशासनले देउसी, भैलो, चाडपर्व लक्षित मेला महोत्सव, प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित र व्यवस्थित तरिका अपनाउन आग्रह गरेको हो । यस्ता कार्यक्रमले सामाजिक सद्भावमा असर नपर्ने गरी बेलुकी अधिकतम १० बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

चाडपर्वका बेला विभिन्न टोल तथा समुदायमा देउसी, भैलो र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएकाले आयोजकले समयसीमा, स्थानीय समुदायको सहजता र सार्वजनिक शान्तिलाई ध्यान दिनुपर्ने प्रशासनको आग्रह छ । चाडपर्व मनाउने नाममा राति अबेरसम्म ध्वनि प्रदूषण गर्ने, होहल्ला गर्ने तथा अरूलाई असहज हुने गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।

त्यस्तै, पटाका, आतिसबाजी, भुइँचम्पा तथा बारुदजन्य विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न तथा जुवातास, कौडा, चिट्ठा र सट्टेबाजीजस्ता गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।

मादक तथा लागुपदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला र झैझगडा नगर्न, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद नाघेका तथा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण नगर्न पनि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द बिष्टले जनाए ।

सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी साधनमा क्षमताभन्दा बढी यात्रु तथा मालसामान नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भाडादरभन्दा बढी नलिन र ट्राफिक नियमको पालना गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।

कुनै अवाञ्छित गतिविधि हुन लागेको वा भएको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरी जानकारी गराउन पनि जिल्लावासीलाई आग्रह गरिएको छ।

प्रशासनले जारी गरेको अनुरोधविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?