© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार यात्रु १६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ ।
सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको बस दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।