© 2026
सिद्धार्थनगर ।
तिहारको अवसरमा आपसी सद्भाव, उल्लास र सांस्कृतिक उत्सवलाई प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा ११औँ युनिक दीपावली फेस्टिभल २०८३ आयोजना हुने भएको छ। युनिक साउण्ड भैरहवाको आयोजनामा आगामी कार्तिक २२ गते सिद्धार्थनगरको मिलनचोकमा फेस्टिभल हुन लागेको हो।
बुधबार पत्रकार सम्मेलन गर्दै युनिक साउण्डका सञ्चालक रहिश खानले कार्यक्रम साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने बताएका छन। कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उनले बताएका छन। साथै, सरप्राइज कलाकारहरूलाई कार्यक्रमकै क्रममा सिधै स्टेजबाट सार्वजनिक गरिने विशेष आकर्षणसमेत रहनेछ।
फेस्टिभलमा नृत्य, गायनलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने स्थानीय कलाकार तथा प्रतिभालाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरिनेछ।
तिहारको अवसरमा आयोजना हुन लागेको यस फेस्टिभलमा चेम्बर अफ कमर्श रूपन्देहीले सहजीकरण तथा समन्वय गरेको छ।
फेस्टिभल आयोजनाका लागि करिब १५ लाख रुपैयाँभन्दा बढी लगानी गरिने संचालक खानको भनाइ छ। भैरहवाको प्रचारप्रसार तथा पर्यटन र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यसमेत कार्यक्रमले लिएको छ।
आयोजकले फेस्टिभलमा करिब ५० हजार दर्शकको सहभागिता रहने अपेक्षा गरेको छ। दीपावलीको उत्सवलाई मनोरञ्जन, कला, संस्कृति र सामाजिक एकताको संगमका रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित कार्यक्रमको तयारी अघि बढाइएको जनाइएको छ।