Butwal Today

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

उदयपुर ।

उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उनले बताए ।

साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको भन्दै गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको रेग्मीले बताए । पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बनेपछि हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

नयाँ भवन निर्माणका लागि दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनको भनाइ छ ।

लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

हालको भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?