© 2026
बुटवल ।
बुटवलको राजमार्ग चौराहामा रहेको पाण्डेय मिठाई पसल सरसफाइमा लापरबाही गरेको पाइएपछि दुई दिनका लागि बन्द गरिएको छ ।
इलाका प्रशासन कार्यालय बुटवलको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा मिठाई बनाउने भान्सा अत्यन्तै फोहोर पाइएको तथा नास्ता बनाउने स्थानमा दुर्गन्ध फैलिएको भेटिएपछि पसल सञ्चालकलाई सरसफाइ गरेर मात्रै व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको हो ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीकान्त पौडेलका अनुसार मिठाई बनाउने स्थानमा अत्यधिक फोहोर भेटिएपछि सरसफाइमा सुधार गर्न निर्देशन दिँदै पसल दुई दिनका लागि बन्द गरिएको हो ।
नेपालीहरूका चाडपर्व नजिकिँदै गर्दा बजारमा अखाद्य वस्तुको प्रयोग, मिसावट तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको हो । सोही क्रममा बुटवलको योगीकुटीस्थित गौतम मिष्ठान, सिद्धबाबा मिष्ठान भण्डार र गणपति मिष्ठानलाई समेत सरसफाइ तथा खाद्य स्वच्छतामा ध्यान दिन सचेत गराइएको छ ।
अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्यवस्तु भान्सामा जथाभावी राखिएको, भान्सामा काम गर्ने कर्मचारीले पञ्जा र टोपी नलगाएको तथा केही पसलमा खाना पकाउन प्रयोग गरिएको तेल पटक–पटक प्रयोग गर्ने गरेको पाइएको पौडेलले बताए । पटक–पटक प्रयोग गरिएको तेल नष्ट गरिएको उनको भनाइ छ ।
पहिलो चरणमा सम्बन्धित पसलहरूलाई सुधारका लागि सचेत गराइएको भन्दै उनले आगामी अनुगमनमा पनि यस्तै लापरबाही दोहोरिए जरिवानासहित खाद्य गुणस्तरसम्बन्धी कानुनअनुसार कारबाही गरिने चेतावनी दिए ।
अनुगमनमा इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय बुटवल, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ बुटवल र नेपाल पत्रकार महासंघलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।