Butwal Today

तिहारले ततायो बजार, दैनिक लाखौँको कारोबार

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

रोल्पा ।
तिहार नजिकिएसँगै रोल्पाका बजारमा चहलपहल बढेको छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार झर्न थालेपछि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा व्यापारिक गतिविधि बढेको हो ।

सदरमुकाम लिबाङसहित सुलिचौर, घर्तीगाउँ, होलेरी, थवाङ, पुतलाचौर र पोवाङलगायतका बजारमा बिहानैदेखि उपभोक्ताको भीड देखिन थालेको छ । तिहारलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा, सुनचाँदीका गरगहना, घर सजावटका सामग्री तथा दैनिक उपभोग्य वस्तु खरिद गर्नेको चाप बढेको व्यवसायीले बताएका छन् ।

तिहारमा नयाँ कपडा लगाउने, घर सजाउने, आफन्त तथा साथीभाइलाई उपहार दिने र विभिन्न परिकार तयार गर्ने चलनका कारण बजारमा किनमेलको रौनक छाएको छ । ग्रामीण क्षेत्रबाट बजार आउने उपभोक्ताको संख्या बढेसँगै पसलमा व्यवसायीलाई कारोबार गर्न भ्याइनभ्याइ भएको छ ।

रोल्पा नगरपालिका–४ लिबाङस्थित दीप किराना पसलका सञ्चालक नवराज घर्तीमगरका अनुसार अहिले पसलमा दैनिक २५ हजार रूपैयाँभन्दा बढीको कारोबार भइरहेको छ । ४१ वर्षीय घर्तीमगरले विगतको तुलनामा यस वर्ष तिहार लक्षित व्यापार राम्रो भएको बताए ।

उनको पसलमा तेल, चामल, दाललगायत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाप बढेको छ । चाडपर्व नजिकिएसँगै उपभोक्ताले आवश्यक सामग्री एकैपटक खरिद गर्न थालेपछि पसलमा व्यस्तता बढेको उनले बताए । “अहिले व्यापार राम्रो छ । ग्राहकको चाप बढेकाले फुर्सद पाउनसमेत गाह्रो भएको छ,” उनले भने ।

लिबाङस्थित शुभलक्ष्मी सुनचाँदी पसलका सञ्चालक सरोज सुनारको अनुभव पनि उस्तै छ । विगत १२ वर्षभन्दा बढी समयदेखि सुनचाँदी व्यवसायमा संलग्न ४१ वर्षीय सुनारका अनुसार तिहार नजिकिएसँगै गरगहना बनाउने तथा खरिद गर्ने ग्राहकको संख्या बढेको छ ।

तिहारमा नयाँ गरगहना लगाउने तथा आफन्तलाई उपहार दिने चलनका कारण सुनचाँदी व्यवसायमा समेत उत्साह थपिएको उनले बताए । विगतको तुलनामा यस वर्ष कारोबार राम्रो भएको उनको भनाइ छ ।

लिबाङकै रोल्पा लोकप्रिय हार्डवेयरमा पनि कारोबार बढेको छ । सञ्चालक यमु महराका अनुसार तिहारलाई लक्षित गरी घर सजावटका लागि विभिन्न रङ, जस्तापाता तथा अन्य निर्माण सामग्री खरिद गर्ने ग्राहक बढेका छन् । अहिले पसलबाट दैनिक एक लाख रूपैयाँभन्दा बढीको बिक्री भइरहेको उनले बताइन् ।

तिहारमा घर मर्मतसम्भार तथा रङरोगन गर्ने क्रम बढ्ने भएकाले हार्डवेयर व्यवसायमा समेत सकारात्मक प्रभाव परेको महराको भनाइ छ ।

लत्ताकपडाको व्यापारमा पनि तिहारको प्रभाव देखिएको छ । रोल्पा नगरपालिका–४ स्थित न्यु जि.एम. होलसेल फेन्सी स्टोरका सञ्चालक पूर्ण घर्तीका अनुसार तिहारलाई लक्षित गरी दैनिक दुई लाख रूपैयाँभन्दा बढीको कारोबार भइरहेको छ ।

३६ वर्षीय घर्तीले गाउँबाट बजार आउने उपभोक्ताले नयाँ कपडा खरिद गर्ने क्रम बढेको बताए । तिहार नजिकिँदै गर्दा चिसो मौसमसमेत सुरु भएकाले न्यानो कपडाको माग बढेको उनको भनाइ छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म पसलमा ग्राहकको चाप रहने गरेको उनले बताए । “तिहारमा नयाँ कपडा लगाउने चलन भएकाले अहिले व्यापार उत्साहजनक छ,” उनले भने ।

बजारको चहलपहलले ठूला तथा मध्यम व्यवसायी मात्र नभई साना व्यवसायीलाई समेत फाइदा पुगेको छ । लिबाङमा सञ्चालनमा रहेका नास्ता पसलमा पनि ग्राहकको आवागमन बढेको छ ।

रोल्पा नगरपालिका–४ की ३८ वर्षीया पवित्रा गुरुङका अनुसार गाउँबाट किनमेलका लागि बजार झरेका उपभोक्ता नास्ता पसलमा समेत आउने गरेका छन् । चिया, सेलरोटीलगायत खाजाका परिकारको बिक्री बढेको उनले बताइन् । उनका अनुसार दैनिक तीनदेखि चार हजार रूपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ ।

यसैबीच, रोल्पाको पूर्वी व्यापारिक केन्द्र सुलिचौरमा पनि तिहार लक्षित व्यापारिक गतिविधि बढेको छ । सुनिल स्मृति गाउँपालिका–६ गजुलका ५४ वर्षीय धर्मराज भण्डारीले विगतको तुलनामा अहिले सुलिचौरको व्यापार राम्रो भएको बताए । तिहारका लागि खाद्यान्न, कपडा तथा अन्य आवश्यक सामग्री खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेको उनको भनाइ छ ।

तर बजारमा किनमेलको चहलपहल बढे पनि ग्रामीण क्षेत्रका उपभोक्ताले सहज यातायातको सुविधा पाउन सकेका छैनन् । भण्डारीका अनुसार दुर्गम क्षेत्रबाट बजार आउनुपर्ने उपभोक्ताले सडक तथा यातायातको असहजताका कारण सास्ती भोग्नुपरेको छ । सार्वजनिक सवारीसाधनमा यात्रु कोचाकोच गरेर यात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै उनले दुर्घटनाको जोखिमप्रति चिन्ता व्यक्त गरे ।

उनका अनुसार वैदेशिक रोजगारीका कारण धेरै युवा गाउँबाहिर रहनु, विभिन्न दुर्घटनामा स्थानीयको मृत्यु हुनु तथा कतिपय व्यक्ति बेपत्ता र घाइते हुनुले गाउँबस्तीमा तिहारको उल्लाससमेत विगतको जस्तो देखिँदैन । विगतमा तिहारका बेला गाउँगाउँमा लिङ्गे पिङ निर्माण गर्ने तथा युवा–युवतीको सहभागितामा रमाइलो गर्ने चलन बढी भए पनि पछिल्लो समय त्यसमा कमी आएको उनले बताए ।

तिहारमा बजारमा उपभोक्ताको चाप बढेसँगै हुन सक्ने मूल्यवृद्धि र ठगी नियन्त्रणका लागि प्रशासनले पनि बजार अनुगमनलाई तीव्र बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय रोल्पाको समन्वयमा विभिन्न बजार तथा पसलमा अनुगमन भइरहेको छ । म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री रोक्ने, मूल्यसूची अनिवार्य गराउने तथा उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने विषयलाई अनुगमनमा प्राथमिकता दिइएको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले तिहारको समयमा बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले नियमित अनुगमनलाई तीव्र बनाइएको बताए । बजारमा वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने तथा उपभोक्ता ठगीमा पर्न सक्ने अवस्थालाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
बजार अनुगमनसँगै सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा पनि प्रशासनले चासो दिएको उनले बताए । चाडपर्वमा यात्रुको संख्या बढ्ने भएकाले यातायात व्यवसायीसँग छलफल गरी सवारीसाधनको व्यवस्थापन, सुरक्षित यात्रा तथा निर्धारित भाडादरभन्दा बढी रकम असुल हुन नदिने विषयमा सहजीकरण भइरहेको सुनारले बताए ।

उनका अनुसार दुर्गम क्षेत्रमा जाने सडकको अवस्था, यात्रुको चाप तथा सवारीसाधन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको छ । यात्रुले सुरक्षित रूपमा यात्रा गर्न पाउने वातावरण निर्माण गर्नुका साथै बजारमा उपभोक्ताको हित संरक्षण गर्नु प्रशासनको प्राथमिकता रहेको उनले बताए ।

तिहार नजिकिएसँगै रोल्पाका बजारमा बढेको व्यापारिक गतिविधिले स्थानीय अर्थतन्त्रमा केही उत्साह थपेको छ । किराना, सुनचाँदी, फेन्सी, हार्डवेयरदेखि साना नास्ता पसलसम्म कारोबार बढ्नुले चाडपर्वको प्रभाव स्थानीय बजारमा देखिएको छ । तर दुर्गम क्षेत्रका उपभोक्ताले सहज यातायात, उचित मूल्य र गुणस्तरीय सामग्री पाउने सुनिश्चितता गर्नु पनि उत्तिकै आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?