© 2026
नवलपरासी ।
सुनवल नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पतालको भवन निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि अस्पताल निर्माण पूरा नभएको र निर्माण सामग्रीको गुणस्तरमाथि स्थानीयले आशङ्का व्यक्त गरेपछि नगरपालिकाको अनुगमन प्रणालीमाथि समेत प्रश्न उठेको छ ।
स्थानीयका अनुसार अस्पतालजस्तो संवेदनशील सार्वजनिक संरचना निर्माण गर्दा प्रयोग हुने सामग्री र निर्माणको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भए पनि निर्माणस्थलमा त्यसअनुसारको निगरानी देखिएको छैन । ठेकेदारले कमसल इँटालगायतका सामग्री प्रयोग गरिरहेको उनीहरूको आरोप छ । निर्माणकै क्रममा गुणस्तरमा सम्झौता गरिए अस्पताल सञ्चालनमा आएपछि भवन चर्किने, भत्किने र नागरिकको सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने उनीहरूको चिन्ता छ ।
विशेषगरी निर्माणस्थलमा प्रयोग भइरहेका इँटाको गुणस्तरलाई लिएर स्थानीयले प्रश्न उठाएका छन् । प्रयोगशालामा परीक्षण गरिएका नमुना र निर्माणस्थलमा वास्तविक रूपमा प्रयोग भइरहेका सामग्रीबिच तालमेल भए–नभएको यकिन गर्नुपर्ने उनीहरूको माग छ ।
एक स्थानीयले निर्माणस्थलमा प्रयोग भइरहेका इँटा देखाउँदै आँखाले हेर्दासमेत गुणस्तर छुट्याउन सकिने अवस्थामा प्राविधिकहरूले कागजी प्रतिवेदनलाई मात्रै आधार बनाएको आरोप लगाए । “औँल र दोयम इँटा छुट्याउन प्राविधिक परीक्षण नै चाहिँदैन । अहिले प्रयोग भइरहेका इँटा हेर्न पनि कोही प्राविधिक आएको देखिँदैन,” उनले भने ।
स्थानीयले निर्माण सामग्रीको गुणस्तर परीक्षणसँगै नगरपालिकाको नियमित अनुगमनमाथि पनि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार नगरपालिकाले प्रभावकारी रूपमा स्थलगत अनुगमन नगर्दा ठेकेदारलाई आफूखुसी निर्माण सामग्री प्रयोग गर्ने अवसर मिलेको हो । सार्वजनिक बजेटबाट निर्माण भइरहेको अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग भएको भए त्यसलाई सामान्य रूपमा लिन नहुने उनीहरूको भनाइ छ ।
तर नगरपालिकाको योजना शाखाले भने निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउँदा गुणस्तर ठीक रहेको दाबी गरेको छ । योजना शाखाका प्राविधिक अधिकृत तोयनाथ शर्माले आँखाले हेरेकै आधारमा कुनै सामग्रीलाई कमसल भन्न नमिल्ने बताए । उनले प्रयोगशाला परीक्षण तथा सामग्रीसम्बन्धी कागजातका आधारमा निर्माणको गुणस्तर मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।
यद्यपि स्थानीयले प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजाले निर्माणस्थलमा प्रयोग भइरहेका सबै सामग्रीको गुणस्तर सुनिश्चित नगर्ने भन्दै थप परीक्षणको माग गरेका छन् । निर्माणस्थलमा प्रयोग भएका इँटा, सिमेन्ट, बालुवा, गिट्टी र छडको वास्तविक अवस्था परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।
नगरपालिकाकै एक कर्मचारीले पनि निर्माण आयोजनाको प्रभावकारी अनुगमनमा समस्या रहेको स्वीकार गरेका छन् । उनका अनुसार कतिपय ठेकेदारले नगरपालिकाका प्राविधिकले दिएका सुझावसमेत बेवास्ता गर्ने गरेका छन् । ठेकेदारको माथिल्लो तहसम्म पहुँच हुने र स्थानीय तहका प्राविधिकको सुझाव कार्यान्वयनमा समस्या आउने गरेको उनको भनाइ छ ।
निर्माणको गुणस्तर कायम गराउन जनप्रतिनिधि पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनले बताए ।
नगरपालिकाका अनुसार अस्पताल भवन, चिकित्सक आवासलगायतका संरचना निर्माणका लागि कुल १३ करोड ६४ लाख २० हजार ६६७ रूपैयाँको आयोजना रहेको छ । उक्त आयोजना निर्माणका लागि श्यामसुन्दर–एनपी जेभी, रूपन्देहीले नौ करोड ४५ लाख ९९ हजार ६१८ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पछि लागत परिवर्तन (भेरिएसन) भएपछि ठेक्काको रकम बढेर नौ करोड ९३ लाख २५ हजार २७९ रूपैयाँ पुगेको छ ।
२०७८ असार २५ गते ठेक्का सम्झौता भई २०७९ पुस ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन सकेन । ठेकेदारले समयमा काम नगरेपछि आयोजना विवादित बनेको थियो । ठेक्कासम्बन्धी विवाद अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि अदालतसम्म पुगेको थियो । त्यसपछि पनि निर्माणले अपेक्षित गति लिन सकेन ।
हाल आयोजनाको म्याद अन्तिम पटक थप गरी २०८३ पुस ३० गतेसम्म पु¥याइएको छ । तर थपिएको म्याद सकिन करिब डेढ महिना मात्र बाँकी रहँदा भौतिक प्रगति करिब ७० प्रतिशतमा सीमित रहेको छ । नगरपालिकाका प्राविधिकका अनुसार भुक्तानीमा भएको ढिलाइले पनि निर्माण कार्य प्रभावित भएको छ । ठेकेदारले हालसम्म सम्झौता रकमको करिब ५० प्रतिशत मात्रै भुक्तानी पाएको बताइएको छ ।
पाँच वर्षसम्म आयोजना सम्पन्न हुन नसक्नु, ठेक्का रकम बढ्दै जानु र निर्माण सामग्रीको गुणस्तरमाथि प्रश्न उठ्नुले सार्वजनिक लगानीको प्रभावकारिताबारे समेत चासो बढाएको छ । स्थानीयले कम रकममा ठेक्का लिएर काम सुरु गरेका ठेकेदारले लागत बढ्दै जाँदा निर्माणमा गुणस्तरमा सम्झौता गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । यद्यपि यसबारे स्वतन्त्र प्राविधिक परीक्षणबाट मात्रै वास्तविक अवस्था पुष्टि हुन सक्छ ।
अस्पताल निर्माणमा भएको खर्च, ठेक्का सम्झौता, भेरिएसन, भुक्तानी र हालसम्मको भौतिक प्रगतिसम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ । निर्माण सम्पन्न भएपछि भवनमा समस्या देखिए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनीहरूले उठाएका छन् ।
यस आयोजनाको अनुगमनको जिम्मेवारी पाएका सुनवल नगरपालिकाका उपप्रमुख सूर्य दुबेसँग निर्माणको गुणस्तर र अनुगमनको अवस्थाबारे प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
स्थानीयले अस्पताल निर्माणस्थलको तत्काल प्राविधिक अनुगमन गरी प्रयोग भइरहेका सामग्रीको स्वतन्त्र प्रयोगशाला परीक्षण गर्न माग गरेका छन् । निर्माण मापदण्डअनुसार काम भए–नभएको यकिन गरी कमजोरी देखिए ठेकेदार र जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको अस्पतालको भवनमै गुणस्तरसम्बन्धी प्रश्न उठ्नु गम्भीर विषय बनेको छ । थपिएको म्यादभित्र निर्माण सम्पन्न गर्ने चुनौतीसँगै भवनको गुणस्तर सुनिश्चित गर्नु नगरपालिकाका लागि अर्को महत्त्वपूर्ण जिम्मेवारी बनेको छ । सार्वजनिक लगानीबाट निर्माण भइरहेको स्वास्थ्य संरचनाको वास्तविक अवस्था प्राविधिक परीक्षणसहित सार्वजनिक गर्नु आवश्यक देखिएको छ ।