Butwal Today

भैरहवा भन्सारमा तीन महिनामै ३३ अर्ब राजस्व

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल । आयात तथा निर्यात व्यापारमा वृद्धि भएपछि भैरहवा भन्सार कार्यालयको राजस्व संकलनमा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा कार्यालयले लक्ष्यभन्दा १३.८६ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयले साउनदेखि असोज मसान्तसम्म ३३ अर्ब ३४ करोड २० लाख रूपैयाँ राजस्व संकलन गरेको हो । उक्त अवधिका लागि २९ अर्ब २८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७५ करोड ५३ लाख रूपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा राजस्व संकलन करिब २० प्रतिशतले बढेको छ ।

भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७.१४ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । यस वर्ष भने लक्ष्यको ११३.८६ प्रतिशत राजस्व संकलन भएको छ । व्यापारिक गतिविधिमा आएको विस्तार र आयातित वस्तुको परिमाण तथा मूल्यमा भएको वृद्धिले राजस्व संकलन बढाउन सहयोग गरेको उनले बताए ।

पहिलो तीन महिनामध्ये असोजमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । असोजमा १० अर्ब ९८ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा १३ अर्ब ८८ करोड रूपैयाँ राजस्व उठेको छ । यो लक्ष्यको १२६.४१ प्रतिशत हो । साउनमा आठ अर्ब ५४ करोड रूपैयाँ लक्ष्य रहेकामा आठ अर्ब ८३ करोड दुई लाख रूपैयाँ र भदौमा नौ अर्ब ७६ करोड रूपैयाँ लक्ष्य रहेकामा १० अर्ब ६३ करोड १६ लाख रूपैयाँ संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?