Butwal Today

तिहारलाई बुटवलमै फुल्यो ३० लाखको फूल !

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।
भारतबाट आयातित माला प्रतिबन्ध लगाएको बुटवल उपमहानगरपालिकामा यो वर्ष तिहार लक्षित ३० लाखभन्दा बढीका फूल फुलेका छन् ।

बुटवल उपमहानगरपालिका कृषि विकास शाखाको तथ्याङ्कअनुसार पालिकाका विभिन्न १७ ठाउँमा किसानले व्यावसायिक रूपमा तिहार लक्षित फूलखेती गरेका छन् । पालिकाको कृषि विकास शाखा प्रमुख अधिकृत सन्तोष जिसीका अनुसार १७ स्थानमा ७० कठ्ठाभन्दा बढी क्षेत्रमा यो वर्ष व्यावसायिक पुष्पखेती भएको छ ।

अधिकृत जिसीका अनुसार बुटवललगायतका स्थानका लागि करिब ५० देखि ६० हजार माला आवश्यक पर्दछ । जसमा बुटवलले मात्रै यो वर्ष करिब ३२ देखि ३५ हजारभन्दा बढी माला र सोहीअनुसार पूजाका लागि फूल तयारी अवस्थामा रहेको छ ।

करिब ३५ हजार मालालाई आर्थिक रूपान्तरण गर्दा करिब ३० लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । यो वर्ष अघिल्लो वर्षजस्तै बुटवल फूलमा आत्मनिर्भर भएको उनको दाबी छ ।

कारोबारका आधारमा अझै मूल्य बढी भएमा किसानले अझ बढी मूल्य पाउने अपेक्षा पालिकाले गरेको छ । बुटवल उपमहानगरपालिकाले विगतका वर्षमा झैँ यो वर्ष पनि बुटवलको मुख्य बजार क्षेत्रमा ट्राफिक चोकमा किसानका लागि बिक्री कक्षको समेत व्यवस्था गर्न लागेको छ ।

बुटवलका विभिन्न क्षेत्रमा किसानले उत्पादन गरेको फूलको ठेगानासहित किसानको सम्पर्क नम्बरसमेत राखेर सूचना जारी गरेको छ । उपभोक्ताको सहजीकरणका लागि सूचना जारी गरिएको उपमहानगरपालिकाले जनाएको हो ।

शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नगरवासीमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्दा वातावरण प्रदूषण हुने र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिएकाले बुटवल उपमहानगरपालिका क्षेत्रभित्र यसको प्रयोगलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले शुभ दीपावली (तिहार) तथा छठ पर्वमा स्थानीय उत्पादित फूल तथा मालाको प्रयोगमा जोड दिएको नगर प्रमुख खेलराज पाण्डेयले बताएका छन् ।

बुटवल उपमहानगरपालिकामा यो वर्ष तीनवटा सहकारी संस्था—बुटवल जैविक कृषि सहकारी, बुटवल–१५, मोतिपुर कृषि सहकारी, बुटवल–१७ र हिमालयन कृषि सहकारी, बुटवल–१२ सहित एउटा निजी कम्पनी फोकस मल्टि एग्रोफार्म र अन्य १२ जना किसानले व्यक्तिगत रूपमा फूलखेती गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?