© 2026
गुल्मी । गुल्मी जिल्लामा विगत १० वर्षको अवधिमा विपद्का विभिन्न घटनाबाट ९५ जनाले ज्यान गुमाएका छन् भने २३७ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७४ साउनदेखि २०८३ असारसम्मको तथ्याङ्क अनुसार गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा बाढी, पहिरो लगायतका विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको बताइएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका प्रदेश सचिव भरतमणी पाण्डेद्वारा प्रस्तुत प्रतिबेदन अनुसार विपद्मा परी मृत्यु हुनेहरूमा ५२ पुरुष र ५१ महिला रहेका छन् । उक्त अवधिमा २३७ जना घाइते अुनुका साथै दुई जना अझै बेपत्ता रहेको बताइएको छ । विपद्का कारण जिल्लाभर कुल ३७१ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको विवरणमा उल्लेख गरिएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदान–प्रदान कार्यक्रममा प्रदेश सचिव पाण्डेले १० वर्षको अवधिमा विपद्का घटनाबाट ६० करोड ८१ लाख आठ हजार रूपैयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख गरेका हुन् ।
जिल्लाका १२ स्थानीय तहगत विवरण अनुसार सबै भन्दा बढी क्षति मुसिकोट नगरपालिकामा भएको छ । मुसिकोटमा १६ जनाको मृत्यु, ४१ जना घाइते, एक जना बेपत्ता तथा ६९ परिवार प्रभावित भएका छन् । उक्त पालिकामा मात्रै १० करोड २६ लाख ५० हजार रूपैयाँ बराबरको आर्थिक क्षति भएको जनाईएको छ ।
त्यसैगरी मदाने गाउँपालिकामा सात जनाको मृत्यु, २५ घाइते, ४२ परिवार प्रभावित र आठ करोड ४५ लाख रूपैयाँ बराबरको क्षति भएको छ । मालिका गाउँपालिकामा १० जनाको मृत्यु, १९ घाइते, २७ परिवार प्रभावित र सात करोड ५५ लाख २० हजार बराबरको क्षति भएको छ ।
त्यस्तै धुर्कोट गाउँपालिकामा १० जनाको मृत्यु, १८ घाइते, २९ परिवार प्रभावित र चार करोड ९२ लाख २० हजार रूपैयाँ क्षति हुँदा इस्मा गाउँपालिकामा आठ जनाको मृत्यु, ४० घाइते, ५५ परिवार प्रभावित र छ करोड ३१ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ । यसैगरी, रेसुङ्गा नगरपालिकामा आठ जनाको मृत्यु, २६ घाइते, २७ परिवार प्रभावित र छ करोड ६० लाख सात हजार रूपैयाँको क्षति भएको छ ।
रुरुक्षेत्र गाउँपालिकामा छ जनाको मृत्यु, ११ घाइते, नौ परिवार प्रभावित हुनुका साथै छ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
कालीगण्डकी गाउँपालिकामा पाँच जनाको मृत्यु, १३ घाइते, २९ परिवार प्रभावित हुनुका साथै चार करोड १४ लाख २० हजार बराबरको क्षति भएको छ ।