Butwal Today

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन अन्तिम चरणमा, कारबाही नगरी टुंग्याउने तयारी

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ। सुनारले अडियोमा रहेको आवाज आफ्नो नभएको दाबी गर्नु र पीडित भनिएकी महिलाबाट औपचारिक उजुरी नआएको आधारमा थप अनुसन्धान अघि नबढाउने तयारी समितिले गरेको छ।

गत असोज २६ गते एक महिलालाई अपमानजनक तथा हिंसात्मक शैलीमा गाली गरिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई छानबिनको जिम्मेवारी दिएको थियो। त्यसपछि असोज २७ गते अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले कात्तिक १२ गते सांसद सुनारसँग करिब चार घण्टा बयान लिएको थियो। अहिले प्रतिवेदन लेखन तथा निष्कर्ष विश्लेषणको काम भइरहेको र तिहारअघि नै अनुशासन आयोगलाई प्रतिवेदन बुझाउने तयारी रहेको संयोजक भट्टराईले बताएका छन्।

सुनारले अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता ९एआई० प्रयोग गरेर बनाइएको हुन सक्ने दाबी गर्दै आएका छन्। समितिले सुरुमा अडियोको प्राविधिक परीक्षण गर्ने तयारी गरे पनि पीडित भनिएकी महिलाले आफूलाई यस प्रकरणमा नमुछ्न आग्रह गरेको र औपचारिक उजुरीसमेत नपरेको भन्दै परीक्षण अघि नबढाउने संकेत गरेको छ। समितिका सदस्यहरूका अनुसार महिलाले सार्वजनिक अन्तर्वार्तामार्फत पनि आफूलाई विवादमा नतान्न आग्रह गरेपछि अनुसन्धानको कानुनी सीमाबारे प्रश्न उठेको हो। यद्यपि, अडियोको वास्तविकता र त्यसको प्रामाणिकताबारे प्राविधिक परीक्षण नभएकाले विवादको तथ्यगत पक्ष भने पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन। अडियो सार्वजनिक भएपछि पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो। समितिमा सुनारको व्यवहारमा सुधार आएको विषयसमेत छलफल भएको बताइएको छ।

छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी गरे पनि सुनारमाथि कारबाही गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय पार्टी नेतृत्व र अनुशासन आयोगबाट हुनेछ।रास्वपाभित्रका केही सांसदले प्रकरणलाई सामान्य रूपमा लिन नहुने र कारबाही नगर्दा पार्टीको अनुशासन तथा सार्वजनिक छविमा असर पर्न सक्ने भन्दै नेतृत्वलाई सचेत गराइरहेका छन्।समितिको निष्कर्ष, अनुशासन आयोगको निर्णय र पार्टी नेतृत्वको भूमिकाले अब सुनार प्रकरणको आगामी दिशा निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?