Butwal Today

आईसीपी निर्माणमा बिलम्व

नेपालतर्फ पुसमै उदघाटनको तयारी, भारततर्फ ढिलाई
१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

भैरहवा ।

एकीकृत जाँच चौकी (आईसीपी) निर्माणका लागि जग्गा अधिग्रहण गरिएको १५ बर्षपछि बल्लबल्ल उदघाटनको तयारी हुँदैछ । नेपाल–भारत व्यापारको प्रमुख नाका भैरहवामा निर्माणाधीन आईसीपीको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

आईसीपीको प्रवेश द्वार लगायतको केही काम मात्र बाँकी रहेको छ भने आगामी पुसमै उदघाटन गर्ने तयारी गरिएको छ । यद्यपि नेपालतर्फ निर्माण अन्तिम चरणमा पुग्दा भारततर्फको आईसीपी तयार हुन अझै करिब दुई वर्ष लाग्ने सम्बद्ध निर्माण व्यवसायीको भनाई छ ।

भारततर्फको संरचना नबन्दासम्म मालवाहक ट्रकको आवागमन भने पुरानै भन्सार मार्गबाट हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख किर्तिकान्त साहका अनुसार आईसीपीको द्वारलगायत केही काम मात्र बाँकी छन् । बाँकी काम पूरा गरी पुसमै उदघाटन गर्ने गरी तयारी अघि बढाइएको छ ।

नेपालतर्फको संरचना उदघाटनको तयारीमा पुगे पनि भारततर्फ निर्माण सम्पन्न हुन लामो समय लाग्ने देखिएकाले दुवै देशका आईसीपी एकीकृत रुपमा सञ्चालन गर्न तत्काल सम्भव नहुने बताईएको छ ।
भारततर्फको संरचना तयार नभएसम्म मालवाहक ट्रकहरु पुरानो भैरहवा भन्सार कार्यालय हुँदै नेपालतर्फको आईसीपीमा प्रवेश गर्नेछन् । यसले नयाँ पूर्वाधार सञ्चालनमा आए पनि सीमापार मालवाहक सवारीसाधनको रुट तत्काल परिवर्तन नहुने स्पष्ट पारेको छ ।

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याउने र भन्सारसँग सम्बन्धित सबै निकायबाट एउटै परिसरमा सेवा उपलब्ध गराउने उद्देश्यले आईसीपी निर्माण गरिएको हो । ३५ दशमलव ११ हेक्टर क्षेत्रफलमा फैलिएको आईसीपीमा आयाततर्फ ६९२ र निर्याततर्फ २७० गरी करिब एक हजार मालवाहक ट्रक पार्किङ गर्न सकिने व्यवस्था छ ।

भन्सार, सुरक्षा, क्वारेन्टिन, अध्यागमन लगायत आयात–निर्यातसँग सम्बन्धित निकायलाई एउटै परिसरमा राखेर सेवा प्रवाह गर्ने संरचना तयार गरिएको छ । परिसरमा आयातको लागि दुईवटा गोदाम र ब्यवस्थापकिय भवन त्यस्तै निर्याततर्फ एकवटा गोदामको साथै अध्यागमनको लागि ब्यवस्थापकीय भवन बनेको छ ।

यस बाहेक परिसरमा आउने ट्रक चालक, सहचालक एवम अन्य भरिया तथा कामदारहरुको लागि आरामगृह, प्रयाप्त शौचालय, खानेपानी लगायतको ब्यवस्था गरिएको छ । भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एन्ड सन्स, लखनउले एक अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँको लागतमा यसको निर्माण गरिरहेको छ । सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि भारतीय पक्षले संरचना नेपाललाई हस्तान्तरण गर्ने व्यवस्था छ ।

आईसीपीमा अत्याधुनिक स्क्यानरलगायत प्रविधि प्रयोग गरिने भएकाले मालवस्तुको जाँच प्रभावकारी हुने, भन्सार राजस्व छली नियन्त्रणमा सहयोग पुग्ने र आयात–निर्यात प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ । एउटै परिसरबाट आवश्यक सेवा उपलब्ध हुँदा व्यवसायीले विभिन्न निकायमा पुग्नुपर्ने झञ्झटसमेत घट्ने विश्वास गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आईसीपी सञ्चालनमा आएपछि ढुवानी समय बचत हुने, मालवाहक सवारीसाधनको व्यवस्थापन सहज हुने र व्यापारिक लागत घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । उनका अनुसार ढुवानी खर्च, समय र बैंकको ब्याजमा हुने अतिरिक्त भार घटाउन सके नेपाली व्यवसायीलाई राहत पुग्नेछ । श्रेष्ठले अहिले आईसीपीमा रेलसेवाको पहुँच नभएको बताउदै आईसीपी नजिकै नौतनवासम्म रेल सेवा रहेको हुँदा यसलाई आईसीपीसम्म पु¥याउन आवश्यक रहेको बताए ।

भैरहवा नाका नेपाल–भारत व्यापारको महत्वपूर्ण प्रवेशद्वार भएकाले आईसीपीलाई व्यापार सहजीकरणको प्रमुख पूर्वाधारका रुपमा हेरिएको छ । यद्यपि नेपालतर्फको संरचना तयार हुँदैमा नाकाको विद्यमान समस्या तत्काल समाधान हुने निश्चित छैन ।

भारततर्फको निर्माण सम्पन्न नभएसम्म पुरानै मार्गबाट ट्रक सञ्चालन गर्नुपर्ने भएकाले नयाँ संरचनाको पूर्ण उपयोग र सीमापार आवागमनको व्यवस्थापनका लागि दुवै देशबीच समन्वय आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?