© 2026
बर्दघाट, नवलपरासी ।
लुम्बिनी प्रदेशका धेरै कम घुम्ने स्थानमध्ये पर्दछ– संसारकोट । संसारकोट त्यस्तो गन्तब्य हो– जहाँ प्रकृतिले पर्यटकलाई लोभ्याउँछ । तपाई पनि संसारकोट पुग्नु भएको छैन भने पछुतो हुनसक्छ । संसारकोट पुग्नेहरु प्रकृतिको मनोरम दृष्यभित्र आफूलाई नै हराएको महसुस गर्छन ।
पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाको व्यस्त बजार र समथर भू–भागबाट केही माथि उक्लिएपछि देखिने हरियाली पहाड, शान्त ग्रामीण बस्ती र टाढासम्म फैलिएको मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ– त्यही हो संसारकोट ।
प्रकृतिको सुन्दरता, ऐतिहासिक विरासत र धार्मिक आस्थाको संगम हो– संसारकोट । बर्दघाट नगरपालिका–२ को पहाडी क्षेत्रमा अवस्थित संसारकोट केवल एउटा ग्रामीण बस्ती मात्र होइन, इतिहास, संस्कृति र प्रकृतिलाई एकै ठाउँमा अनुभूति गर्न सकिने सम्भावनायुक्त पर्यटकीय स्थल पनि हो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संसारकोट मन्दिरका नामबाट यस क्षेत्रको नामकरण भएको स्थानीय विश्वास छ । थारु र मगर समुदायको धार्मिक आस्थासँग जोडिएको यो मन्दिरले यहाँको मौलिक संस्कृति र परम्परालाई समेत जीवन्त राखेको छ ।
बर्दघाटको भुताहा चोकबाट उत्तरतर्फ करिब सात किलोमिटरको दूरी पार गरेपछि संसारकोट पुग्न सकिन्छ । समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको संसारकोट बर्दघाट नगरपालिकाकै सबैभन्दा अग्लो स्थानका रूपमा परिचित छ । यहाँ पुग्ने पर्यटकले एकातिर शान्त पहाडको वातावरण र हरियालीको आनन्द लिन सक्छन् भने अर्कोतर्फ उत्तरतर्फ फैलिएका हिमशृंखला तथा दक्षिणतर्फ बर्दघाट बजारदेखि त्रिवेणी क्षेत्रसम्मको मनोरम दृश्य अवलोकन गर्न सक्छन् ।
संसारकोटको आकर्षण प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन । यस क्षेत्रको ऐतिहासिक पहिचान बोकेको संसारकोट मन्दिरसँगै सेनवंशीय राजाहरूको कोटका रूपमा परिचित मौलादेवी मन्दिर पनि यहाँको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा हो । पहाडी क्षेत्रका पुराना बस्तीका रूपमा परिचित तिल्केनी, बिहारी र इनारचुलीले पनि यस क्षेत्रको मौलिक पहिचानलाई थप समृद्ध बनाएका छन् ।
पछिल्लोसमय संसारकोटसहित आसपासका पहाडको बस्तीमा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको छ । विशेषगरी प्राकृतिक दृश्यावलोकन, शान्त वातावरण र पहाडको जीवनशैली अनुभव लिन चाहनेहरूका लागि यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यही सम्भावनालाई लक्षित गर्दै संसारकोट क्षेत्रमा हिल टुरिजमको अवधारणा पनि विस्तार हुँदै गएको छ ।
बर्दघाट नगरपालिका–२ का वडाध्यक्ष गणेश क्षेत्रीका अनुसार यस क्षेत्रका विभिन्न बस्तीमा करिब ४५० घरधुरीमा दुई हजार १ सय हाराहारी जनसंख्याको बसोबास छ । भौगोलिक रूपमा केही विकट भए पनि प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाका कारण यो क्षेत्र पर्यटन विकासको पर्याप्त सम्भावना बोकेको उहाँको भनाई छ ।
पर्यटनको विकासले यहाँको प्राकृतिक सुन्दरताको प्रचारप्रसार मात्र गर्ने छैन, स्थानीय बासिन्दाको आर्थिक जीवनस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पु¥याउन सक्छ । स्थानीय उत्पादन, कृषि उपज, मौलिक परिकार र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके संसारकोट क्षेत्रका बासिन्दाले गाउँमै बसेर आम्दानी गर्ने अवसर पाउनेछन् ।
यही सम्भावनालाई आत्मसात् गर्दै संसारकोट क्षेत्रमा होमस्टे सञ्चालन गर्न सके पर्यटनको विकाससंगै संसारकोट आर्थिक समृद्धिको महत्वपूर्ण हिस्सा बन्न सक्छ । होमस्टे सञ्चालन भएमा बाहिरबाट आउने पर्यटकले स्थानीय संस्कृति, रहनसहन, खानपान र पहाडी ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिन पाउनेछन् । यसबाट स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै रोजगारी र स्वरोजगारका अवसरसमेत सिर्जना हुने विश्वास गर्न सकिन्छ ।
तीनैतहका सरकारले संसारकोटमा आवश्यक पूर्वाधार, सडक, पर्यटनस्थलको संरक्षण तथा प्रवद्र्धनमा लगानी गर्न सके यो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बर्दघाटवासीको भनाई छ ।
संसारकोटको सम्भावना उजागर गर्न अब यसको प्राकृतिक सौन्दर्यको प्रचार मात्र पर्याप्त छैन । यहाँ पुग्ने सडकको स्तरोन्नति, पदमार्ग निर्माण, दृश्यावलोकन स्थल व्यवस्थापन, खानेपानी, सरसफाई, सूचना बोर्ड, धार्मिक सम्पदाको संरक्षण र होमस्टे सञ्चालनलाई योजनाबद्ध रूपमा अघि बढाउन आवश्यक छ । स्थानीय समुदायलाई पर्यटन व्यवसायसँग जोड्दै उनीहरूको सीप र क्षमताको विकास गर्न सके पर्यटनबाट प्राप्त हुने लाभ गाउँमै पुग्न सक्छ ।
इतिहासका पदचाप, धार्मिक आस्थाको विश्वास र प्रकृतिको अनुपम उपहार बोकेको संसारकोट यतिबेला आफ्नो नयाँ पहिचान निर्माणको सम्भावनामा उभिएको छ ।


