© 2026
बुटवल । नेपाली कम्युनिस्ट पार्टी नेकपाले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान आज रुपन्देहीमा उद्घाटन भएको छ। “राष्ट्रिय जागरण अभियान जनताका समस्या, जनअपेक्षा र समसामयिक राजनीतिक परिस्थितिबारे जनतासँग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अभियान हो। नेकपा लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
इन्चार्ज खनालले अभियान उद्धघाटन गर्दै “राष्ट्रिय जागरण अभियान जनताका समस्या, जनअपेक्षा र समसामयिक राजनीतिक परिस्थितिबारे जनतासँग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अभियान भएको बताए। देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता र कानुनी समानता स्थापित गर्न राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्छ। सरकारका कामकारबाही जनताप्रति उत्तरदायी हुनुपर्छ। सार्वजनिक पदमा रहेका व्यक्तिमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्छ र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। राष्ट्रिय जागरण अभियानमार्फत जनताका वास्तविक समस्या पहिचान गर्दै राजनीतिक तथा सामाजिक रूपान्तरणका सवालमा जनतालाई जागरूक बनाउनु आवश्यक छ। जनताको अधिकार, सुशासन र सामाजिक न्यायका पक्षमा पार्टीले आफ्ना धारणा जनतामाझ पुर्याउनुपर्छ भन्ने मुल उद्धेश्य रहेको खनालले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपाका प्रदेश संयोजक सुदर्शन बरालले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै गृहमन्त्री सुधन गुरुङमाथि कारबाही नभएको आरोप लगाए। बरालले सर्वसाधारणसँग केही हजार रुपैयाँ भेटिँदा कारबाही गर्ने सरकारले गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा रहेको दाबी सार्वजनिक हुँदा पनि कारबाही नगरेको बताएका हुन्। कानुनविपरीत हदबन्दीभन्दा बढी जग्गा भेटिँदा पनि गृहमन्त्रीमाथि कारबाही हुँदैन,’ बरालले भने। उनले रास्वपाका मन्त्री तथा सांसदहरूसँग सयौँ तोला सुन रहेको दाबी गर्दै व्यापारी कमल मालपानीमाथि छानबिन नभएको भन्दै प्रश्न उठाए।
बरालले वर्तमान सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोपसमेत लगाए। नागरिकता विवादमा परेकी आनी छोइङ डोल्माको विषय उठाउँदै उनले छानबिन तथा कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा लुम्बिनी विकास कोषमा नियुक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए।