Butwal Today

लुम्बिनीमा तीन प्रदेशका सांसद भेला, कानून निर्माणदेखि जनप्रतिनिधिको भूमिकासम्म छलफल

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

चन्द्रौटा । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका महिला तथा सीमान्तकृत समुदायका प्रदेशसभा सदस्यहरूबीच संसदीय अभ्यास, कानून निर्माण र सुशासन प्रवर्द्धनका विषयमा अनुभव आदानप्रदान छलफल सुरु भएको छ। युएनडिपीको संसद् सहयोग परियोजनाको सहकार्यमा बुधबारदेखि कपिलवस्तुको चन्द्रौटामा सुरु भएको कार्यक्रममा तीनवटै प्रदेशका महिला तथा सीमान्तकृत समुदायका सांसदहरूले आ–आफ्नो प्रदेशमा भएका असल अभ्यास, चुनौती र समाधानका उपायबारे छलफल गरेका छन्।

कार्यक्रममा प्रदेशसभाको प्रभावकारी सञ्चालन, कानून निर्माण प्रक्रियामा जनप्रतिनिधिको भूमिका, महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने उपाय, संसदीय अभ्यास र सुशासन प्रवर्द्धनलगायत विषयमा अन्तरक्रिया गरिएको छ। सहभागी सांसदहरूले एक प्रदेशमा भएका सफल अभ्यासलाई अन्य प्रदेशमा समेत लागू गर्न सकिने सम्भावनाबारे अनुभव साटासाट गरेका छन्।

कार्यक्रममा युएनडिपीका यम किशन ,अनु प्रसाईं लामा र क्यारिना श्रेष्ठले सांसदहरूको क्षमता अभिवृद्धि, नीति निर्माणमा समावेशी सहभागिता तथा अनुभव आदानप्रदानको महत्वबारे प्रस्तुति दिएका थिए। त्यसैगरी, अनुभव आदानप्रदान सत्रमा गोविन्द खड्का, लक्ष्मी नेपाल र अमृता अनमोलले सहजीकरण गरेका थिए। सहभागी सांसदहरूले आफ्नो कार्यकालका सिकाइ, सफल अभ्यास र चुनौती प्रस्तुत गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महिला तथा सीमान्तकृत समुदायका प्रदेशसभा सदस्यहरूको सीप तथा क्षमता विकासका क्षेत्रमा सञ्चारिका समूह लुम्बिनी, फाया नेपाल सुदूरपश्चिम र पूर्वसांसद मञ्च कर्णालीले आ–आफ्नो प्रदेशमा काम गर्दै आएका छन्। बुधबारदेखि सुरु भएको अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ। कार्यक्रमले प्रदेशसभाको कामकारबाहीलाई थप प्रभावकारी, समावेशी र जनमुखी बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?