Butwal Today

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन दिन वर्षा र हिमपातको सम्भावना

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ। महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’ बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको हो। यसको प्रभावले नेपालको वायुमण्डलमा बुधबारदेखि नै उच्च तहका बादल देखिन थालेका छन्।

चक्रवातको प्रभावका कारण कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार उक्त तीन दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।

वर्षा, चट्याङ, असिना र हिमपातको सम्भावना रहेकाले मौसमको नियमित जानकारी लिन तथा सम्भावित जोखिमप्रति सतर्क रहन आवश्यक छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने, कृषि कार्यमा संलग्न हुने र नदी तथा खोलानजिक बसोबास गर्नेहरूले मौसमसम्बन्धी आधिकारिक सूचनालाई ध्यान दिनु उचित हुन्छ। मौसमको अवस्था र पूर्वानुमानमा परिवर्तन हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखा तथा सम्बन्धित निकायका पछिल्ला सूचनालाई आधार मान्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?