Butwal Today

प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न बुटवल उपमहानगरको आग्रह

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले तिहार तथा छठ पर्वमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ। वातावरण प्रदूषण न्यूनीकरण तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उपमहानगरपालिकाले स्थानीय रूपमा उत्पादित फूल तथा मालाको प्रयोग गर्न अनुरोध गरेको हो।

उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक अपिल जारी गर्दै नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वका अवसरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेका हुन्।

प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगले वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन उपमहानगरपालिकाले अनुरोध गरेको छ।

तिहारमा घर, पसल तथा विभिन्न स्थान सजाउन फूलमालाको प्रयोग गर्ने परम्परा छ। यस्तो समयमा प्लास्टिकका कृत्रिम फूलमालाभन्दा स्थानीय रूपमा उत्पादित प्राकृतिक फूलको प्रयोग गर्न सके वातावरण संरक्षणमा सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ।

उपमहानगरपालिकाले तिहार तथा छठ पर्वमा स्थानीय किसानले उत्पादन गरेका फूल तथा मालाको प्रयोग गर्न आग्रह गर्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाएको छ।
नगर प्रमुख पाण्डेयद्वारा जारी अपिलमा सबै नगरवासी, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै वातावरणमैत्री पर्व मनाउन अनुरोध गरिएको छ।

उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्दै वातावरण संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमा नगरवासीको साथ र सहयोग अपेक्षा गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?