© 2026
खार्तुम ।
सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो ।
न्यालाका एक बासिन्दाका अनुसार सोमबार राति ८ बजे सहरको उत्तरी भागमा रहेको बजारमा ड्रोन प्रहार भएको थियो । अर्का स्थानीय बासिन्दाले उक्त बजारमा युवाहरू र विशेषगरी आरएसएफका लडाकूहरू आउने गरेको बताए ।
न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । तर, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकू थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।
सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि आरएसएफसँग युद्ध लड्दै आएको छ । सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ । आरएसएफले न्यालालाई आफ्नो मुख्य आधार बनाउँदै खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकार घोषणा गरेको छ ।
सुडानमा जारी युद्धमा पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बनेको छ । दुवै पक्षले देशका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा एकैपटक दर्जनौँ सर्वसाधारणको ज्यान जाने गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामै ड्रोन हमलामा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन् ।
सन् २०२३ मा युद्ध सुरु भएयता दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ । युद्धले सुडानमा विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ ।