Butwal Today

रसुवा बाढी पीडितका लागि जापानबाट करिब ४ लाख राहत सहयोग

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

गुल्मी ।

रसुवाको भोटेकोसीमा हालै गएको बाढीका कारण पीडित बनेका परिवारको राहत तथा पुनस्र्थापनाका लागि जापानबाट ३ लाख ७४ हजार ८४३ रुपैयाँ सहयोग गरिएको छ । नेपाल विपद् राहत सङ्कलन अभियान अन्तर्गत जापान स्थित स्थानीय नगरपालिका तथा प्रहरी प्रशासनसँग अनुमति लिई अभियानै सञ्चालन गरेर उक्त रकम सङ्कलन गरिएको हो ।

जापान स्थित हनुमान रेस्टुरेन्टका ग्राहक तथा विभिन्न स्टेसन र पसलहरूबाट सङ्कलन गरिएको उक्त रकम सिटी एक्सप्रेस रेमिट्यान्स मार्फत नेपाल पठाईएको हो । देश र जनता अप्ठ्यारोमा परेको अवस्थामा राष्ट्र प्रतिको निष्ठा र आस्थालाई मनन् गर्दै प्रवासी नेपालीहरू मानवीय सेवामा जुटेका हुन् ।

सङ्कलित उक्त रकम रेमिट्यान्स मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको राहत सङ्कलन अभियानका अभियन्ता किसन सापकोटाले जानकारी दिएका छन् । अभियानका संयोजक सापकोटाले मातृभूमिमा आएको यस विपद्को घडीमा जापानमा रहेका नेपाली तथा जापानीहरुले आफ्नो छाक काटेर पनि पीडितहरूको राहतका लागि थोरै भए पनि सहयोग जुटाउन मद्दत पुगेको बताए ।

उनले रकम थोरै भए पनि प्रवासमा रहेका नेपालीहरुको मन ठूलो भएको बताउँदै थोरै भए पनि सङ्कलन गरेर पठाएको रकमले घरबार विहीन र घाइते परिवारहरूलाई केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे ।

अभियानमा कामता स्टेसन पश्चिम निकास, हनुमान इशिकावादाई, सुगाहारा र इकेगामी पसल तथा भारतीय खानाको पसल रोसानी लगायतका स्थानहरूबाट सहयोग जुटाइएको थियो । त्यस्तै नागामोची तोमोको, चिबा, कावाकामी ताकाशी, सर्मादेव प्रसाद, सापकोटा सुदीप र पाटराई रस्माना लगायतका महानुभावहरूको सक्रिय सहभागिता रहेको सहयोग सङ्कलन अभियानका संयोजक सापकोटाले जानकारी दिएका छन् ।

उनले विषम् परिस्थितिमा राहत सङ्कलनमा अहोरात्र खट्ने सम्पूर्ण स्वयंसेवक तथा आर्थिक सहयोग गर्नेे सबैलाई अभियन्ता सापकोटाले धन्यवाद दिनुका साथै विपद्मा परी जीवन गुमाउनेहरु प्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?