© 2026
बुटवल ।
बुटवल गोरुसिङ्गे सडक निर्माणको काममा ढिलाइ भएको छ । जसका कारण यो सडक निर्धारित मितिमा सम्पन्न नहुनेमा आशङ्का बढेको छ ।
बुटवल गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले अहिले दसैँ तिहारको लागि कामदारहरू छुट्टीमा गएकोले पनि अहिले निर्माणको काममा ढिलाइ देखिएको जनाएको छ । आयोजनाका सूचना अधिकारी अशोक पौडेलले आयोजनाको काममा ढिलाइ भएको बताउँदै निर्माणको जिम्मा पाएको कम्पनीले अव कामको गति बढाउने बताए ।
यो सडकमा गत वर्ष दैनिक ८०० श्रमिकले काम गर्दै आएकोमा अहिले भने दैनिक २०० कर्मचारी मात्रै कार्यरत छन् ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिई काम गरिरहेका छन् ।
उता आयोजना निर्माण कम्पनीका प्रतिनिधिहरूले गत वर्षदेखि नै बिटुमिन अभावसँगै माटो र नदीजन्य पदार्थको समेत अभावले निर्माणको काम प्रभावित भइरहेको जनाउँदै आएको छ । गतबर्ष वर्षा सुरु हुनु अघिसम्म करिब तीन लाख घन मिटर माटो आवश्यक भए पनि माटो नपाउँदा निर्माणको काम प्रभावित भएको जनाएको हो ।
बुटवल गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवल प्रमुख कुसलता न्यौपानेले यो सडक २०८४ कात्तिक ३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइन । उनका अनुसार अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको छ ।
सडक विस्तारलाई ५० किलोमिटर दूरीमा दुई खण्डमा विभाजन गरिएको छ । बुटवल–सालझण्डी (२५ किमी) लट–१ र कपिलवस्तुतर्फ गोरुसिङ्गेसम्म (२५ किमी) लट–२ अन्तर्गत काम भइरहेको छ । लट–१ को लागत सात अर्ब ८९ करोड रुपियाँ र लट–२ को पाँच अर्ब ६६ करोड रुपियाँ छ ।
गत वर्ष सडक आयोजना अन्तरगत बुटवल खण्ड र कपिलवस्तु खण्डको केही भागमा पिचको काम सुरु गर्ने निर्माण कम्पनीले तयारी गरे पनि मध्यपूर्वमा भएको द्वन्द्वका कारण बिटुमिन अभाव भएपछि पिचको काम त्यत्तिकै रोकिएको थियो ।
उक्त सडक खण्डमा तीन वटा पुल अव निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् भने कल्भर्ट निर्माणको काम सकिने अवस्थामा पुगेको छ । त्यसै गरी अन्डर पास, ओभर पास तथा जैविक मार्ग निर्माणको काम सुरुवात मात्रै भएको छ ।