© 2026
दोहा (कतार) ।
कतारमा रहेका लुम्बिनीवासी नेपालीहरूले बडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको आयोजना तथा प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाहरूको समन्वयमा शुक्रवार आयोजित कार्यक्रममा नेपालबाट आमन्त्रित लोकदोहोरी गायिका सुनिता सुनारले आफ्नो साङ्गीतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।
कतारको प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा सुनिताले साङ्गीतिक प्रस्तुति दिँदा उपस्थित दर्शक छमछमी नाच्दै मज्जाले
झुमेका थिए । दुई चरणमा झन्डै एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेकी उनले दर्शकबाट पटक–पटक ‘वान्स मोर’को मागसमेत पाएकी थिइन् ।

पहिलो पटक कतार आएकी सुनिताले आफूलाई माया र साथ दिएकोमा लुम्बिनी प्रदेश समन्वय परिषद् कतार तथा गुल्मी सेवा समाज कतारप्रति आभार व्यक्त गरिन् । उनको प्रस्तुतिले कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनेको थियो ।
लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सजन लौडारी र परिषद्का प्रमुख संरक्षक कमलमणि गुरागाईँको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी नेपालीहरूले अग्रज तथा अतिथिहरूको हातबाट दसैँको टीका र जमरा ग्रहण गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संरक्षक गुरागाईँले लुम्बिनी प्रदेश समन्वय परिषद्, कतारले प्रवासमा रहेका लुम्बिनीवासी नेपालीलाई एकताबद्ध गर्दै नेपाली चाडपर्व, कला र संस्कृतिलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले यस्ता कार्यक्रमले नेपाली मौलिक धर्म, संस्कृति, परम्परा र भेसभुसाको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा समेत आफ्नो सांस्कृतिक पहिचान हस्तान्तरण गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
परिषद्का अध्यक्ष लौडारीले पहिलो पटक कतार आएकी गायिका सुनारको साङ्गीतिक यात्राको सफलताको कामना गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्था, सहयोगी तथा सहभागीप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूलाई पारिश्रमिक सहित सम्मान गरिएको थियो ।

परिषद्का उपाध्यक्ष टेक राज थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण देवराज पुन र राजन चापागाईँले संयुक्त रूपमा गरेका थिए ।
लुम्बिनी प्रदेश समन्वय परिषद्, कतारले कतारमा रहेका लुम्बिनीवासी नेपालीलाई एकताबद्ध गर्दै सामाजिक सेवा, मानवीय सहयोग, रक्तदान तथा विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको छ । साथै, नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै प्रवासमा नेपाली पहिचान र आपसी सद्भाव कायम राख्न योगदान पुर्याउँदै आएको छ ।