Butwal Today

कांग्रेस पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ ।

सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । तर, सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भने अहिलेसम्म शपथ लिएका छैनन् । उनीहरूले निर्वाचित भएको प्रमाणपत्रसमेत पाएका छैनन् ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सभापति थापाबाहेक निर्वाचित तथा निर्विरोध भएका २३० जना पदाधिकारी र सदस्यले पद तथा गोपनीयताको शपथ लिन बाँकी छ ।

कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने गरी तयारी भइरहेको जानकारी दिए । यद्यपि, कार्यक्रमको मिति औपचारिक रूपमा निश्चित भइनसकेको उनले बताए । ‘हामीले कात्तिक १२ गते गर्ने गरी तयारी अगाडि बढाइरहेका छौँ । निश्चित भने भएको छैन,’ कटुवालले भने ।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति निश्चित गर्न केही ढिलाइ भएको कटुवालले बताए । शर्मा आइतबार स्वदेश फर्किएपछि शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमको मिति र समय तय हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?