Butwal Today

यो दसैंमा नयाँ जीवन पाएको दिन……….

६ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

बुवालाई एक्कासी सास फेर्न निकै गाह्रो भएपछि बडादसैंको दुई दिनअघि सोमवार बिहानै कपिलवस्तु अस्पताल निस्कियौँ । खोकी लागेको थियो । रातिदेखि श्वास फेर्न असहज थियो । हामीले मेडिकल कलेज भैरहवा पु¥यायौँ । अवस्था जटिल थियो । तुरुन्त डायलाइसिस गर्नुपर्ने देखियो तर बुटवल–भैरहवामा तत्काल आवश्यक चिकित्सकको व्यवस्था हुन नसकेपछि डायलाइसिस सम्भव भएन । धेरैलाई फोन गरियो तर कतैबाट संकेत पाउन सकिएन । कतै उपाय नलागेपछि अन्तिम आशा बोकेर बुवालाई कपिलवस्तु अस्पताल तौलिहवा लैजाने निधो ग¥यौँ । शिवराज अस्पताल बहादुरगन्जको एम्बुलेन्स मार्फत अक्सिजन दिएर तौलिहवा तिर लाग्यौ । अक्सिजन लगाएपनि श्वास फेर्न गारो भएको थियो । जब एम्बुलेन्सबाट बुवालाई निकाल्यौ, त्यो वेलाको क्षण कहालीलाग्दो थियो ।

अस्पतालको इमर्जेन्सी बेडमा बुवालाई सुताउँदाको त्यो दृश्य अहिलेपनि आँखा अगाडि घुमिरहेको छ । आँखा खुला थिए तर कुनै चलायमान थिएन । मुख आँ गरेको अवस्थामा बोली रोकिएको थियो । शरीर चिसो भइसकेको थियो । त्यो अवस्था देख्दा लाग्थ्यो—हाम्रा बुवा मृत्यु शय्यामा पुगिसक्नुभएको छ । मैले मनमनै सोचेको थिएँ– अब घरका सबै सदस्यलाई मुख हेर्न बोलाउँ कि । डाक्टर आउनु भयो ! डाक्टरले हेर्ने बित्तिकै भन्नुभयो– “ओहो, अवस्था त निकै गम्भीर छ, बचाउन गाह्रो छ ।”

मैले अस्पतालका मेसु डा. किशोर बन्जाडेलाई फोन गरेँ । उहाँले अवस्था बुझ्नुभयो । “यति ढिलो किन ल्याएको ?” भन्दै हामीलाई गाली पनि गर्नुभयो तर त्यो गालीसँगै बुवालाई बचाउने अथक प्रयास सुरु भइसकेको थियो ।

दुवै हाततिर डाक्टरहरू थिए । सिरिन्जबाट औषधि चलिरहेको थियो । कोही नाडी छाम्दै थिए, कोही रक्तचाप जाँच्दै थिए । प्रत्येक मिनेट बुवाको जीवनका लागि संघर्ष भइरहेको थियो । फोनबाट मेसु किशोर बन्जाडेले उपचार प्रकृयाको निर्देशन दिदै उपचार चलिरहेको थियो । निर्देशन अनुसार वुवाको उपचारमा डाक्टर बिनोद चौधरी, डा जावेद अख्तर खाँ, डाक्टर मान सिंह, एचए पशुपति चौधरी, नर्स ललिता पाण्डे (डाईलोसिस तर्फ), सिनियर अहेव प्रविन मिश्रा, अहेव आशिस उपाध्याय लगायत खटिनु भएको थियो । मोनिटरका अंकमा हेर्दै केही सुधार हुन्छ कि भन्दै आँखा जुधेका थिए । करिब एक घण्टापछि पल्स र रक्तचाप केही बढ्यो । मनमा थोरै आशा पलायो तर बुवा अझै अचेत नै हुनुहुन्थ्यो ।

उपचार चलिरहँदा कहिलेकाहीँ डाक्टरको अनुहारमा थोरै खुसी देखिन्थ्यो । त्यो खुसी देख्दा हामीलाई लाग्थ्यो—सायद बुवामा सुधार हुँदैछ । तर डाक्टरको मुहारमा निराशापन धेरै देखिन्थ्यो ।

करिब डेढ घण्टापछि बुवाको मुखबाट केही आवाज आउन थाल्यो । त्यो बोल्न खोजेको आवाज थिएन, सास फेर्न गाह्रो हुँदा निस्किएको आवाज थियो । डाक्टरले डायलाइसिस आवश्यक रहेको तर अवस्था केही स्थिर नभएसम्म त्यहीँ डायलाइसिस गर्न कठिन हुने बताउनुभयो ।
हामी फेरि फोन घुमाउन थाल्यौँ—कतै केही उपाय पो निस्किन्छ कि !

डवलबहादुर विसी अंकललाई सम्पर्क गरेँ । अनि गौतमबुद्ध मुटु अस्पतालमा मुटुरोग बिशेषक्ष डाक्टर हुनुहुन्छ भन्ने थाहा भयो । यसबीच इसिजी गरियो । करिव ५÷६ पटक इसिजी गरियो होला । औषधि चलाउदै चेक गर्दै जाँदा पनि मुटुको गतिविधि अत्यन्त न्यून देखियो । हामी फेरि झसङ्ग भयौँ । बाँकी रहेको आशा पनि कमजोर हुँदै गएको थियो ।

त्यसपछि डा. विनोद चौधरी आइपुग्नुभयो र उपचारमा जुट्नुभयो । अन्तिम उपायका रूपमा मुटुमा विद्युतीय झट्का दिनुपर्ने अवस्था आयो । त्यसबाट पनि सुधार नभए ठूलो अस्पताल लैजानुपर्ने थियो । धन्न ७ बर्ष अगाडि डा बन्जाडेले नेतृत्व सम्हालेपछि सक लगाउने मिसिन खरिद गरिएको रहेछ । त्यो उपकरण प्रयोग गर्न पाईयो ।

डा. विनोदले विद्युतीय झट्का दिनुभयो । अनि … हामीले कल्पना नगरेको घटना भयो ।
बुवा एक्कासी उठ्नुभयो । त्यो क्षण शब्दमा बयान गर्न सकिँदैन ।

हामी उपचारको लागि बुटवल भैरहवा काठमाण्डु, चितवन पुग्ने गर्दछौ । तर सफल उपचार हाम्रो वरिपरि नै हुने रहेछ । मुटुको कम्पन नभई रक्तचाप अति न्यून भएको पल्स रेट, अक्सिजन लेभल न्यून भएको जटिल केसको सफल उपचार भई सोहि दिन डाईलोसिस गरि थप उपचार र निगरानीको लागि आईसियुमा भर्ना हुनुभएको छ ।

बुवाको उपचारका लागि हामी तीनै भाईसँगै थियौँ । अवस्था देखेर हामी तीन भाइले लगभग आशा मारिसकेका थियौँ । तर अस्पतालको इमर्जेन्सीमा हातमा सुई समाएका देउताहरूले बुवा र हाम्रो परिवारलाई फेरि पुनर्मिलन गराइदिनुभयो । हाम्रा लागि यो दसैँको सबैभन्दा ठूलो र अमूल्य उपहार हो ।

कपिलवस्तु अस्पतालले मृत्युको मुखमा पुग्नुभएका मेरा बुवाको जीवन जोगाएको यो दोस्रो पटक हो । त्यसैले यस अस्पताल र यहाँ कार्यरत स्वास्थ्यकर्मीप्रति हाम्रो परिवार सधैँ ऋणी रहनेछ ।

अरू मानिस परिवारसँग बसेर दसैँ मनाइरहेका बेला आफ्नो घर–परिवार र चाडपर्वभन्दा बिरामीको जीवनलाई प्राथमिकता दिएर अस्पतालमा खटिनुहुने सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति हृदयदेखि नमन र सम्मान व्यक्त गर्दछु ।

विशेषगरी चाडपर्वमा समेत घर नगई बिरामीको डायलाइसिस सेवामा खटिनुहुने नर्स ललिता पाण्डे सिस्टरप्रति पनि हृदयदेखि सम्मान र कृतज्ञता व्यक्त गर्दछु ।

डाक्टर र स्वास्थ्यकर्मीलाई हामी किन भगवानको अर्को रूप भन्छौँ भन्ने कुरा त्यो दिन मैले आफ्नै आँखाले देखेँ । बुवालाई हामीमाझ फर्काइदिन अथक प्रयास गर्नुहुने सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीप्रति हाम्रो परिवारको तर्फबाट—हृदयदेखि नमन । यो दसैँमा हामीले नयाँ जीवन पाएजस्तै भएको छ ।

बुवाको पुनर्जीवन नै हाम्रो परिवारका लागि यस वर्षको सबैभन्दा ठूलो आशीर्वाद र अमूल्य उपहार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?