© 2026
काठमान्डौँ ।
नेपालका उत्पादनमूलक उद्योगहरूको क्षमता उपयोग निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.१ प्रतिशतमा सीमित भएको छ । यो भूकम्प र कोभिड महामारीपछिकै न्यून स्तर हो ।
राष्ट्र बैंकको अध्ययनले पछिल्ला वर्षहरूमा उत्पादनमूलक उद्योगहरूको क्षमता उपयोग निरन्तर ओरालो लागिरहेको देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा उद्योगहरूको वार्षिक औसत क्षमता उपयोग ४९.८ प्रतिशत रहेकोमा आव २०८०/८१ मा घटेर ४८.३ प्रतिशतमा झरेको थियो । त्यस्तै, आव २०८१/८२ मा ४४.५ प्रतिशतमा सीमित भएको क्षमता उपयोग चालु आर्थिक वर्षको पहिलो ६ महिनामा थप घटेर ४२.१ प्रतिशतमा पुगेको हो ।
विगत एक दशकको तथ्यांक हेर्दा प्राकृतिक तथा मानवीय विपद्का समयमा बाहेक उद्योगहरूको औसत क्षमता उपयोग ५० प्रतिशतभन्दा माथि रहने गरेको देखिन्छ । तर पछिल्ला तीन आर्थिक वर्षमा भने उद्योगहरूको क्षमता उपयोग लगातार घटिरहेको छ । यसले मुलुकको औद्योगिक क्षेत्रले अपेक्षित गतिमा उत्पादन गर्न नसकेको संकेत गरेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा उद्योगहरूको वार्षिक औसत क्षमता उपयोग ५९.७ प्रतिशत रहेको थियो । त्यस्तै, आव २०७५/७६ को पहिलो ६ महिनामा क्षमता उपयोग हालसम्मकै उच्च ६० प्रतिशत पुगेको थियो । त्यसयता विभिन्न आर्थिक तथा बाह्य कारणले उद्योगहरूको उत्पादन क्षमता उपयोगमा उतारचढाव देखिँदै आएको छ ।
भूकम्प, नाकाबन्दी र कोभिड महामारीका समयमा उद्योगहरूको क्षमता उपयोगमा उल्लेख्य गिरावट आएको थियो । आर्थिक वर्ष २०७२/७३ को पहिलो ६ महिनामा भूकम्प र नाकाबन्दीको प्रभावका कारण क्षमता उपयोग ३९.५ प्रतिशतमा झरेको थियो । त्यस्तै, कोभिड महामारीको सुरुवाती समय अर्थात् आव २०७६/७७ को पहिलो छ महिनामा उद्योगहरूको क्षमता उपयोग ३९.८ प्रतिशतमा सीमित भएको थियो ।
पछिल्लो तथ्यांकले उद्योगहरूको क्षमता उपयोग फेरि संकटग्रस्त समयकै हाराहारीमा पुगेको देखाएको छ । उद्योगहरूले उत्पादन गर्न सक्ने क्षमताको आधाभन्दा कम मात्र उपयोग गर्न सक्नुले औद्योगिक गतिविधिमा सुस्तता रहेको संकेत गर्छ ।
अध्ययनको दायरा पनि पछिल्ला वर्षहरूमा विस्तार गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो अर्धवार्षिक अवधिसम्म १३१ वटा उद्योगलाई अध्ययनमा समेटिएको थियो । त्यसपछि अध्ययनको दायरा बढाउँदै पछिल्लो समय १५४ वटा उद्योगको उत्पादन तथा क्षमता उपयोगको नियमित अनुगमन गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अधिकारीहरूको विश्लेषणमा बजारमा समग्र माग संकुचित हुनु, नेपालको जनसांख्यिक अवस्था र आयातित वस्तुसँगको प्रतिस्पर्धा स्वदेशी उद्योगहरूको क्षमता उपयोग घट्नुका प्रमुख कारण हुन् । बजारमा माग कमजोर हुँदा उद्योगहरूले उत्पादन बढाउन नसक्ने र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन हुँदा स्वदेशी उत्पादनको विस्तार प्रभावित हुने अवस्था देखिएको छ ।