© 2026
चितवन । गैँडाकोटको धार्मिक स्थल मौलाकालिका मन्दिरमा देवघाट तर्फबाट पनि केबलकार लैजाने तयारी गरिएको छ । गैँडाकोट तर्फबाट यसअघि नै मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएको छ ।
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र ढकालको टीमले देवघाटको चितवनतर्फबाट गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जाने केबलकार सञ्चालनको प्रकृया अघि बढाएको हो । व्यवसायी ढकालले चितवनका पत्रकारहरुसँग कुरा गर्दै धार्मिक पर्यटनका लागि देवघाट पुगेका मानिसलाई मौलाकालिका मन्दिरसम्म पनि पुग्ने सहज बनाउन केबलकार निर्माण प्रकृया अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढ्न लागेको छ । सरकारका नियमक निकायहरुबाट स्वीकृति लिन करिब एक वर्ष लाग्ने त्यसपछि बढीमा वर्षदिनसम्ममा सञ्चालनमा ल्याउने गरि तयारी गरिएको जानकारी दिए ।
गैँडाकोटर्फबाट सञ्चालनमा आएको केबलकारको प्रयोग गरि गतवर्ष करिब २ लाख मानिसले मौलाकालिका मन्दिर दर्शन गरेको उनले जानकारी दिए । व्यवसायी ढकालको टीमले मौलाकालिका मन्दिरमा इला नाम दिएर अन्तर्राष्ट्रिय स्तरको होटल पनि सञ्चालन गरेको छ । धार्मिक पर्यटकलाई सुविधाको लागि होटल सञ्चालन गरिएको उनको दाबी छ ।
उनले मौलाकालिका मन्दिर सञ्चालनमा आएपछि मन्दिरको ४० प्रतिशत आम्दानी बढेको दाबी गरेका थिए । तर, मन्दिर सञ्चालक समितिले भने अघिल्लो वर्ष १५ प्रतिशत आम्दानी बढेको बताएको छ ।