© 2026
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आगामी दुई दिन केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल देखिएको छ।
सोमबार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मंगलबार राति गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
त्यसैगरी, बुधबार दिउँसो हिमाली भूभागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बुधबार राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। तराई क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमसम्बन्धी सूचनामा ध्यान दिनु उपयुक्त हुनेछ।
स्रोत : मौसम पूर्वानुमान महाशाखा