© 2026
भैरहवा, २ असोज ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रमा सडक, स्वास्थ्य र शिक्षालगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताएका छन् ।
मर्चवारको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उनले चार लेन सडक विस्तार, ग्रामीण सडक निर्माण र अस्पताल स्थापनाका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
रुपन्देही क्षेत्र नम्बर ४ का सांसद कन्हैया बानियाको आग्रहमा मर्चवार पुगेका मन्त्री लम्सालले मर्चवारस्थित प्रसिद्ध शक्तिपीठ मर्चावारी माई मन्दिरमा विशेष दर्शन तथा पूजाआजा गरे । उनिसँगै रुपन्देही क्षेत्र नम्बर २ का सांसद सुलभ खरेल र क्षेत्र नम्बर ५ का सांसद तौफिक अहमद खानले पनि मन्दिरमा दर्शन तथा पूजा गरेका थिए ।
मन्दिर दर्शनपछि मन्त्रीसहितका सांसदहरुले मर्चवार क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय पूर्वाधारको अवस्था र विकासका आवश्यकताबारे जानकारी लिएका थिए । सो क्रममा स्थानीय बासिन्दाले सडक, अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयको स्तरोन्नति लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
मन्त्री लम्सालले चालु आर्थिक वर्षको बजेटबाट दुईवटा खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार पहिलो खण्डअन्तर्गत पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल टेन्डर प्रक्रिया अघि बढाइनेछ ।
पहिलो खण्डकै बाँकी १५ किलोमिटर सडकको डीपीआर तयार गरी टेन्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म टेन्डर आह्वान गर्ने योजना रहेको उनको भनाइ छ ।
सडक विस्तारले मर्चवार क्षेत्रको आवागमन सहज बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई जोड्ने सडकहरु चालु वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।
यसका अतिरिक्त मुख्य सडक तथा गाउँगाउँसम्म पुग्ने ग्रामीण सडकहरूको निर्माण र स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिएको उनले बताए ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले सर्पदंश उपचार सहितको अस्पताल निर्माणको माग उठाएपछि मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा अस्पताल निर्माणका लागि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमै स्वास्थ्य पूर्वाधार विकास आवश्यक रहेको भन्दै उनले अस्पताल स्थापनाको विषयलाई आगामी योजनामा समेटेर अघि बढाइने बताए ।
त्यसैगरी, क्षेत्रका स्वास्थ्य चौकीहरुको स्तरोन्नति तथा विद्यालयहरुको भौतिक पूर्वाधार सुधारलाई पनि क्रमिक रुपमा अगाडि बढाइने उनको भनाइ छ । चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गर्ने र आगामी वर्ष बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने तयारी रहेको उनले जानकारी दिए । मन्त्री लम्सालले मर्चवार क्षेत्रको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । स्थानीय आवश्यकताको पहिचान गरी योजनाबद्ध ढङ्गले बजेट व्यवस्थापन र निर्माणका काम अघि बढाइने उनले बताए ।
सांसद कन्हैया बनियाँले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत सबै गाउँपालिकामा मन्त्रीको उपस्थितिमा विकास निर्माणका गतिविधि तथा स्थानीय आवश्यकताबारे अवलोकन गरिएको जानकारी दिए । क्षेत्रका विकास निर्माणका कामलाई छिटो अघि बढाउने उद्देश्यले मन्त्री, जनप्रतिनिधि र स्थानीयबीच भेटघाट तथा छलफलसमेत गरिएको उनले बताए । मर्चवार क्षेत्रका सडक, सिँचाइ तथा अन्य पूर्वाधार विकासका समस्या र आवश्यकताबारे मन्त्रीलाई स्थलगत रुपमा जानकारी गराइएको सांसद बनियाँको भनाइ छ ।
स्थलगत अनुगमनले मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गर्न र आगामी योजनालाई प्राथमिकताका आधारमा अघि बढाउन सहयोग पुग्ने सांसद बनियाको अपेक्षा छ । स्थलगत निरीक्षणका क्रममा उठेका माग र समस्याको अध्ययन गरी थप योजनासहित अघि बढ्ने मन्त्रीको प्रतिबद्धताले मर्चवारवासीमा विकासका नयाँ अपेक्षा जगाएको उनले बताए ।