Butwal Today

बिमल घर्तीमगरले लिए सक्रिय फुटबलबाट सन्न्यास

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रा टुङ्ग्याउने घोषणा गरेका हुन्। बुटवलबाट सुरु भएको फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनैदेखि खेलेको बताएका छन्।

‘बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो। मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ,’ उनले लेखेका छन्। फुटबलप्रेमी तथा शुभचिन्तकबाट पाएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा भावुक भएको बताएका छन्। आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु। सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

विमलले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका उनले नौ गोल गरेका छन्। उनले आफ्नो खेलजीवनमा नेपाली फुटबल टोलीले जितेका विभिन्न अन्तर्राष्ट्रिय उपाधिमा महत्त्वपूर्ण योगदान दिएका छन्। सन् २०१५ को यू–१९ साफ च्याम्पियनसिप, सन् २०१६ को बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद सागको स्वर्ण पदक र एएफसी सोलिडारिटी कप जित्ने नेपाली टोलीका उनी सदस्य थिए।

घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका विमलले नेदरल्यान्ड्समा युवा फुटबलसमेत खेलेका थिए। बुटवलबाट सुरु भएको उनको फुटबल यात्राले राष्ट्रिय टोलीसम्मको उचाइ हासिल गरेको थियो। राष्ट्रिय जर्सीमा देशको प्रतिनिधित्व गर्दै नेपाली फुटबलमा योगदान दिएका विमलले अब सक्रिय खेलाडीका रूपमा आफ्नो यात्रा टुङ्ग्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?