© 2026
चन्द्रौटा ।
दसैं सुरु भए यता झन्डै करोड रुपैया बराबरको सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ । पछिल्लो १० दिनमा ९० लाख रुपैयाँभन्दा बढी मूल्यका समान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइले विभिन्न स्थानबाट लत्ताकपडा सहितका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यहि असोज २८ गते एउटा सवारीसाधनसहित १६ लाख १३ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ । त्यसैगरी असोज २७ गते एक लाख ५० हजार र असोज २६ गते सात लाख ४५ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार असोज २५ गते दुई लाख २१ हजार रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको थियो । असोज २१ गते एक भ्यान र एक मोटरसाइकलसहित १० लाख ९० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । यस अवधिमा इलाका प्रहरी कार्यालय सुन्दरी डाडाँका प्रमुख प्रहरी निरीक्षक आदर्श गिरीको नेतृत्वमा खटिएको टोलीले ५२ लाख रुपैयाँ भन्दा बढी मूल्यका लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई तीव्र बनाइएको उपरीक्षक सिंहले जनाए । बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।