Butwal Today

बुटवलमा मनाइयो ७१औँ प्रहरी दिवस

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा ७१औँ प्रहरी दिवस २०८३ बुटवलमा मनाइएको छ । ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित बुटवलस्थित प्रहरी तालिम केन्द्रमा आयोजित कार्यक्रममा प्रहरी अधिकारी, अमर प्रहरीका परिवार तथा पूर्वप्रहरीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक एवं समादेशक दयानिधि ज्ञवालीले नेपाल प्रहरीले जनमुखी, पारदर्शी र सेवाभावसहित कार्य गर्नुपर्नेमा जोड दिए ।  वि.सं. २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी हालसम्म जनताको सुख दुःखको सारथी बन्दै आएको उल्लेख गर्दै उनले प्रहरी र समाज एकअर्काका परिपूरक रहेको बताए ।

समाजबिनाको प्रहरी र प्रहरीबिनाको समाजको कल्पना गर्न नसकिने भन्दै ज्ञवालीले देशको शान्ति सुरक्षा थप मजबुत बनाउँदै निष्ठा र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा अमर प्रहरीप्रति पुष्पगुच्छा अर्पण गर्दै सहिद तथा अमर प्रहरीको उच्च बलिदानले प्रहरी संगठनको मनोबल उच्च बनाएको उल्लेख गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले देश र जनताको सुरक्षामा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले प्रहरी सेवालाई थप सुदृढ, प्रभावकारी र सेवामुखी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्ट, अमर प्रहरी परिवार केन्द्रीय वरिष्ठ उपाध्यक्ष रीता सेन वली, पूर्वप्रहरी संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रहरी हवल्दार हरिप्रसाद भट्टराई, छविलाल खत्री, त्रियोगी नारायण ठाकुरलगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रहरी दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?