© 2026
अहिले हामी सवैको घर आँगनमा दसैंको रौनक सुरु भएको छ । यही बेला देशका विभिन्न स्थानमा देशैभरी दशैं सस्तो बजार तथा उपभोक्ता सुपथ पसल सञ्चालनमा आएका छन् । रूपन्देहीमा भने यो वर्ष दसैं सस्तो बजार अहिलेसम्म संचालन भएन । यद्यपि देशका अरू स्थानमा भएका यस प्रकारका दशैं सस्तो बजारले उपभोक्तालाई दशैंमा केही सस्तोमा भएपनि उपभोग्य वस्तु खरिद गर्न पाउँदा राहत प्रदान नै गर्छन ।
दशैं सस्तो बजारले उपभोक्तालाई राहतमात्र होइन स्थानीय गतिविधि बढाउन समेत सहयोग पुग्छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । दशैं सस्तो बजारसंगै देशका विभिन्न स्थानमा मेला र महोत्सव पनि दशैंका अवसरमा सुरु हुँदैछन । यस्ता गतिविधिले निश्चित रूपमा नेपालमा औद्योगिक एवं व्यापारिक चहलपहलमा बृद्धि गर्न थप सहयोग पुग्छ भन्ने मान्न सकिन्छ ।
मुलुकमा अहिले आर्थिक संकटको अवस्था छ । यो घडीमा समेत मेला र महोत्सव आयोजना हुनु राम्रो संकेत हो । सस्तो बजार, मेला र महोत्सवले बजारको चहलपहलमा बृद्धिमात्र होइन, स्थानीय गतिविधि बृद्धि गरि राष्ट्रिय उत्पादनमा सहयोग पुग्छ भन्ने ठान्न सकिन्छ । वास्तवमा देश संकटमा हुँदा पनि यस प्रकारका आर्थिक गतिविधि बढ्नु राम्रो संकेत हो । यो भनेको जनता चलायमान छन र देशले थोरै फडको मारेपनि यहाँको आर्थिक सूचकाँक राम्रो विन्दुमा पुग्नसक्छ भन्ने हो ।
अहिले बालेन सरकार बनेदेखि नै राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख भन्दा पनि कमजोर अवस्थामा छ । मुलुकको यो अवस्था रहँदा पनि यहाँ भैरहेको गतिविधिले भने केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन । सस्तो बजार, मेला र महोत्सवको चहलपहलले देश आर्थिक सम्मृद्धितर्फ उन्मुख हुन ठूलो मद्दत गर्दछ । यस्ता गतिविधिलाई आगामी दिनमा पनि प्रवद्र्धन गर्नु आवश्यक छ । अर्कोतर्फ हरेक बर्ष चाडपर्व नजिक आउँदै गर्दा उपभोक्ता जहिलेपनि महंगीको मारमा पर्दै आएका छन् । सस्तो बजार त क्षणिक दिनका लागि मात्र हो । चार दिनको वीचमा कति उपभोक्ताले दशैं सस्तो बजारबाट सहुलियत पाउलान ? अनि उपभोक्ता महंगीको मारमा पर्नु बाध्यता नै हुन्छ ।
अर्कोतर्फ दशैं सस्तो बजारले आम उपभोक्तालाई राहत दिन सक्दैन । तसर्थ सरकारले क्षणिक भन्दा पनि दिर्घकालीनरूपमा जनतालाई राहत हुनेगरी सस्तो पसल सञ्चालन गर्नुपर्दछ । चाडपर्व मुखैमा आईसकेको छ । मूल्य बजारको नियन्त्रणमा छैन । यसकै कारण जनता ठूलो मारमा परेका छन् । प्रायः चाडपर्वको मुखमा आएर अधिकार प्राप्त निकायले बस्तुको गुणस्तरमा अनुगमन गरेपनि वस्तुको मुल्यमा खासै चासो दिएको पाईँदैन । सरकार न मूल्य नियन्त्रण गर्न सक्छ न त बजार हस्तक्षेप गरेर जनतालाई राहत दिन सक्छ । खोई सरकार भएको अनुभूति जनताले गर्न नपाउनु साँच्चै बिडम्बना हो ।
अर्कोतर्फ दशैंलाई लक्षित गरि सञ्चालनमा आएका कतिपय सस्तो पसलले उपभोक्ताको ढाड सेक्नेगरी मूल्यबृद्धि गरिरहेको पनि पाइएको छ । छुट भनिएका सस्तो पसलमा उपभोक्ताको त्यत्तिकै भीड देखिन्छ । यो विषयमा सरकारका निगरानी अंगहरूको ध्यान जाओस् ।