© 2026
२०८३ सालको बडादसैं यही असोज २५ गते आइतबार प्रतिपदा तिथिको दिनदेखि सु रु भएकोछ । यो पर्वलाई परापूर्व कालदेखि महान चाडको रूपमा मनाउँदै आएका छौं । दसैं मनाउनुका धेरै कारण बताइन्छ । त्यसमध्यमा असत्य माथि सत्यको विजयको कुरालाई प्रमुख रूपले उठाउने गरिन्छ । हुन त हाम्रा धर्म ग्रन्थहरूले पनि मातृशक्तिको कुरालाई स्विकार गरेको छ । त्यसैले “यत्र नारी पुज्येन्ते तत्र देवता” भनिएको छ । देसैंको कुरागर्दा दुर्गा भगवतीको कुरालाई निकै प्राथमिकतामा राखिएको पाइन्छ । दुर्गा भगवतीलाई शक्तिको प्रतिकको रूपमा लिने गरिन्छ ।
दसैंलाई नवरात्र भनिन्छ र नवदुर्गाको नव रूपमा लिने गरिन्छ । दुर्गालाई नवरूपमा रहेको विश्वासले गर्दा नवै दिनमा दुर्गाको पूजाआरधना गरिन्छ । त्यसैले दुर्गाका स्वरूपहरूको वर्णनगर्दा पहिलो दिनलाई शैलपुत्री,दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौंदिन सिद्धिदात्रीका रूपमा हेर्ने गरिन्छ । पहिलो दिनबाट नवौं दिनसम्म विभिन्न रूपमा मातृशक्तिको पूजा गरेपछि मात्र दशौं दिनमा त्यही मातृशक्तिको प्रसाद ग्रहण गरिन्छ ।
दसैंको प्रसाद भनेको टीका र जमरा हो । टीका अन्य पर्वमा पनि प्रयोग गरिन्छ तर जमरा हामीले मनाउने अन्य कुनै पनि पर्वमा प्रयोग गरिदैन । यसकारण पनि यो पर्व फरक महत्वको मानिन्छ । टीका प्रसाद र मान्यजनबाट शुभाशीर्वाद यस पर्वको मुख्य भाग हो । दसैपर्व भित्र एकातर्फ मातृशक्तिको प्रसंगलाई उठाइन्छ भने अर्कोतर्फ असत्य माथि सत्यको विजयको कुरा गरिन्छ । यसको साथमा विभिन्न कोणबाट यो पर्वको महत्व दर्शाएर सबैभन्दा उच्च पर्वको रूपमा व्याख्या गर्ने गरिन्छ ।
चाडहरू सबै महान हुन्, त्यसमा पनि दसैं सबैभन्दा लामो समय मनाउने भएको हुनाले र विभिन्न शक्ति पीठमा पूजा तथा पाठ समेत गरिने भएको हुनाले यसको महत्व अरूको भन्दा वेग्लै हुनु स्वभाविक हो । हामी यो पर्वमा मातृशक्तिको निकै राम्रो चर्चा गरेको पाउँछौं । वास्तवमा मातृशक्ति भनेको अरूभन्दा पृथक हो भन्ने लाग्दछ । रामायणको कथा अध्ययन गर्दा मातृशक्तिको बलले रामले रावण माथि विजय गर्न सफल भएको वर्णन पाइन्छ । यस्तै महाभारतको युद्धमा पनि मातृशक्तिले गर्दा पाण्डवहरूले कौरवलाई हराएको कथा पाइन्छ । रामायण महाभारत मात्र नभएर इन्द्रले वृतासुरलाई हराउन मातृशक्तिको आवश्यक्ता परेको कुरा पौराणिक कथामा पाइन्छ । यस्ता धेरै उदाहरण छन् । हाम्रो मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनहरूमा पनि मातृशक्तिको बलले सफलता हात लागेको उदाहरण छन् । वास्तवमा दसैंले नारीहरूको शक्तिको सम्मान गर्नुपर्छ भन्ने अर्को राम्रो सन्देश दिएको पाइन्छ ।
हामी चाड भने पछि अत्यन्त उत्साहित हुन्छौं । अझ सानो उमेरमा यो पर्व मनाउनुको मज्जा वेग्लै लाग्दथ्यो । नयाँ नानाका साथमा अरू दिनहरू भन्दा केही फरक मिठो भोजन पाइने हुनाले पनि केटाकेटी उमेरमा यसलाई अझ रमाइलोगरी मनाएको सम्झना अझै ताजै छ । हुन त यो पर्वमा सबैलाई उत्तिकै रमाउन मन लाग्छ तर कतै कतै अभावका कारण र प्राकृतिक विपत्तिका कारण कम रमाइलो हुनसक्छ । हामीले हरेक वर्ष विभिन खालका पीडाहरू भोग्दै आएका छौं । प्राकृतिक पीडाले कतिवेला हाम्रो मन छिया छिया पारेको हुन्छ । यो वर्ष पनि हाम्रो मन केही मात्रामा छिया छिया भएको छ । हामीले एक पछि अर्को विपत्ति झेल्दै आएका छौं । यसैले पनि थोरै भए पनि मातृशक्तिको आरधनामा कमी आउँछ कि भन्ने लाग्दछ । यी पंक्तिहरू तयार गरिरहँदा भाद्र १० गतेको भोटेकोशी र त्रिसुलीको बाढीले निम्त्याएको अकल्पनीय पीडाबाट पीडितहरूको अवस्थाको याद आइरहको छ । यसैको साथमा असोज ८ गते देखि ११ गतेसम्म भएको अविरल वर्षाले विभिन्न बालीनालीमा पु¥याएको क्षतितर्फ दिमाग पुगेको छ ।
यी दुबै घटना अप्रत्यासित घटना हुन् र दुबैले ठूलो विपत्ति सहन वाद्य बनाएका छन् । यसैमा आरम्भका दिनहरूमा सरकारले जुन तदारुक्ता देखाएको थियो हामी निकै प्रसंसा समेत गरेको थियौं । तर दिनहरू वित्दैजाने क्रममा सरकारले पुरै अभिभावकीय भूमिका निर्वाह गर्नसकेन भन्ने लागको छ । यो लागेको मात्र होइन जानकारहरूले सत्य समेत हो भन्ने गरेका छन् । सरकारले अभिभावकीय भूमिकामा कमी ल्याउनु अर्को कृत्रिम विपत्ति हो । यस्ता विपत्ति खेपिरहेका हाम्रा दाजु भाइ दिदी बहिनीको अवस्थाको एउटा चित्र मेरो मानसपटलमा नाचिरहको छ । मलाई लाग्छ यो विपत्तिमा परेकोहरूले पनि यसबाट निप्टारा पाउन सरकारको सद्बुद्धि सधै पीडितहरूको अवस्था सुधार गर्न र पुनःस्थापना गर्नकालागि निरन्तर दिल दिमाग लागिरहोस भनेर कामना गर्दै शक्तिपीठमा पुगेर पूजाआरधना गर्नुपर्दछ । जुन परिवारमा यी दुबै घटनाले परिवारका सदस्यहरूलाई छिनेर लगेको छ उहाँहरूले पनि अव यस्तो घटना कहिल्यै कसैले भोग्न नपरोस भनेर कामना गर्नुपर्दछ ।
चाडहरू हरेक वर्ष आउँछन् जान्छन् केहीका मुखबाट यस्ता वाणीहरू पनि सुन्न पाइन्छ । यो त हो तर यस्तै पर्वले दिने सन्देशले हाम्रो मन हलुंगो बनाउँछ । हामी आपसी मित्रतामा जोडिन्छौं । केही समय भए पनि यसले हाम्रो पीडालाई समन गर्दछ । यसकारण पर्वहरू आफैमा बोझ होईनन् । बोझ बनाइएका हुन् । जुनसुकै पर्व पनि आफ्नो क्षमता अनुसार मनाउने आदत बनाउने हो भने चाडहरू बोझिला हुँदैनन् । कुन चाडले बाझपूर्ण तरिकाले मनाउनु पर्छ भन्ने गर्छ र ? यो त हाम्रो सोंचाइको प्रतिफल मात्र हो । यतिकुरा उल्लेख गरिरहँदा हाम्रा पर्वहरूमा केही विकृति आएको पनि साँचो हो ।
यो पनि कहाँबाट आयो भन्ने थाह छैन तर कहीनकहिंबाट केही दाग देखिएको छ । जस्तो तीजको दरखाने नाममा महिनादिन पहिलेदेखि लाग्नेगरे जस्तै दसैंमा पनि क्षमताले नभ्याए पनि तडकभडक देखाउने वा देखासिकी बढता गर्ने स्वभाव हामीमा पनि बढेर आएको छ । यसलाई आफै नियन्त्रण गर्नुपर्दछ । कुनै पनि चाडहरू आफै जानेर वा नजानेर भड्किलो बनाउनु भनेको अपराध नै हो । यो अपराध कसैले पनि गर्नुहुँदैन । आफ्नो हैसियत बढी छ भनेर आफूलाई उच्च घरानाको ठान्नु गलत हो । हैसियत त दुई नम्वर धन्दाले पनि बढन सक्छ । जुन कुरा सबैका लागि पाच्य हुँदैन त्यही काम कुरा किन गरिरहने ? यो पनि सर्बसाधारणका लागि अर्को पीडा थपिदिएको हुनसक्छ ।
आउनुहोस, रमाएर चाड बनाउने वानीको विकास गरौं । आफ्नो हैसियत चाड मनाउँदा भड्किलो गरेर होइन साथ र सहयोगमा अगुवाईगर्न सिकौं । मनग्य शुभाशीर्वाद दिन नविर्सौंं । ठूलोलाई सदा सम्मान गरौं सानालाई माया गरेर आत्मियता देखाउन नविर्सौ । आफ्नो गच्छे अनुसार दक्षिणा दिने गरौं । ठूलो दक्षिणामा आफ्नो मन नलगाऔं । दक्षिणा ठूलो होइन । सद्भाव ठूलो हो । तपाईले आजसम्म कति धेरै कमाइ गर्नु भएको छ तर त्यो सबै विटो परेर वसेको पनि छैन । तर तपाई नैतिकवान वा चरित्रवान हुनुहुन्छ भने त्यो तपाईको साथमा सधै रहने छ । जीवन पछि बच्ने भनेको त्यही मात्र हो । अन्तमा दसैंको टीका प्रदान गर्दा हामी यसरी भन्दै आएका छौं –
“आयुर्दोण सुते श्रीयो दशरथे सत्रुक्षयो रघवे, ऐश्वयं नहुसे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यौं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते, विज्ञानं विदुरे भवन्तु भवताम कीर्तिश्च नारायणे ।।”
यो वर्षको दसैंमा सबै मनहरूमा हार्दिक शुभकामना ।