Butwal Today

सहकारीलाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बाणगंगा । सहकारी संस्थालाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सदस्यको आर्थिक सशक्तीकरण, संस्थाको दिगोपन र सहकारी क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ।

बुधबार दर्शन बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले सहकारीलाई सदस्यको आर्थिक उन्नति र आत्मनिर्भरताको माध्यम बनाउनुपर्ने धारणा राखेका हुन्। सहकारीको प्रभावकारिता बढाउन पारदर्शिता, सुशासन र सदस्यको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिए।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेजप्रसाद आचार्यले दर्शन बचत तथा ऋण सहकारीले आफ्ना सेयर सदस्यलाई राम्रो लाभांश दिन सफल भएको उल्लेख गर्दै सहकारीले सदस्यको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताए। पछिल्लो समय केही सहकारीमा बचतकर्ताको रकम हिनामिना भएका घटनाले समग्र सहकारी क्षेत्रप्रति अविश्वास बढाएको चर्चा गर्दै उनले बचतकर्तालाई पनि संस्थाको आर्थिक अवस्था र विश्वसनीयता बुझेर मात्र बचत गर्न आग्रह गरे।

सहकारीले सदस्यको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आचार्यले पछिल्लो समय सहकारी संस्थाको संख्या घट्दै गएको बताए। सहकारीलाई थप प्रभावकारी बनाउन उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने र सदस्यको आर्थिक अवस्था सुधार गर्ने गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

सभामा सहकारीका जिल्ला तथा केन्द्रीय प्रतिनिधि राजेन्द्रविक्रम शाह, सल्लाहकार झलक मल्ल ठकुरी र कृष्णबहादुर शाहीले सहकारीको विकास, सदस्यको आर्थिक उन्नति तथा संस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा धारणा राखेका थिए। सहकारी संस्थाले सदस्यको विश्वास कायम राख्दै जिम्मेवार ढंगले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिए।

सहकारीकी अध्यक्ष कमला सेन सुस्मा खाँणले सदस्यको विश्वासलाई कायम राख्दै संस्थालाई पारदर्शी, व्यवस्थित र सदस्यको हितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। सो अवसरमा असल बचतकर्ता तथा असल ऋणीलाई सम्मान गरिएको थियो।

 

संस्थाकी अध्यक्ष कमला सेन सुस्माको अध्यक्षता, उपाध्यक्ष निर्मल शाहीको स्वागत मन्तव्य तथा सचिव देवेन्द्र विक्रम मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?