© 2026
शुभ विजयादशमी २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई दिदिबहिनीका साथै साथी संगतीहरुलाई सुख, शान्ति, सम्बृद्धि एवं सु–स्वास्थ्य र दिर्घायूको हार्दिक मंगलमय शुभकामना । साथै प्रत्येक वर्ष अक्टोबर १५ तारिखका दिन विश्वभर ‘विश्व हात धुने दिवस’ मनाइन्छ । साबुनपानीले हात धुने साधारण देखिने बानीले मानव स्वास्थ्यमा कतिसम्म ठूलो र सकारात्मक प्रभाव पार्छ भन्ने कुरामा जनचेतना जगाउनु यस दिवसको मूख्य उद्देश्य हो ।
हाम्रा हातहरू दैनिक जीवनका विभिन्न कार्यमा निरन्तर प्रयोग भइरहन्छन् । यहीक्रममा विभिन्न सूक्ष्म जीवाणु, भाइरस र फोहोर हाम्रा हातमा टाँसिन्छन् । ती जीवाणुहरू मुख, नाक वा आँखाका माध्यमबाट शरीरभित्र प्रवेश गरी अनेकौँ रोगको कारण बन्न सक्दछन । त्यसैले साबुनपानीले सही तरिकाले हात धुनुलाई जनस्वास्थ्यको क्षेत्रमा सबैभन्दा सस्तो, सहज र प्रभावकारी उपाय मानिन्छ ।
केवल पानी मात्रले हात पखाल्दा हातमा टाँसिएका चिल्लो पदार्थ र हानिकारक जीवाणुहरू पूर्णरूपमा पखालिँदैनन् । साबुनमा हुने रसायनले भाइरस र जीवाणुको बाहिरी बोसोयुक्त तहलाई नष्ट गरिदिन्छ । जसले गर्दा जीवाणुहरू हातको छालाबाट अलग्गिएर पानीसँगै बगेर जान्छन् । त्यसैले पानी मात्र नभई साबुनको प्रयोग अनिवार्य मानिन्छ ।
स्वास्थ्य र हातको स्वच्छताबीच प्रत्यक्ष र अभिन्न सम्बन्ध छ । हाम्रो दैनिक व्यवहारमा प्रयोग हुने हात नै धेरैजसो संक्रामक रोगहरू फैलाउने मुख्य माध्यम बन्ने गर्दछ । त्यसैले दिसा–पिसाब गरिसकेपछि, फोहोर वस्तु परेमा वा बिरामीको स्याहार गरेपछि हात सफा नगरिएमा जीवाणुहरू सजिलै खानेकुरा वा अन्य वस्तुमा सर्छन् । साबुनपानीले हात धुँदा जीवाणुहरूको यो स्थानान्तरण प्रक्रिया रोकिन्छ ।
पाचन प्रणालीको समस्या र झाडापखाला रोकथामः दुषित हातले खाना खाँदा झाडापखाला, हैजा, जुकापर्ने र टाइफाइड जस्ता पानीजन्य तथा खाद्यजन्य रोगहरू लाग्छन ्। विश्व स्वास्थ्य संगठनका अनुसार साबुनपानीले हात धुने बानीले झाडापखाला सम्बन्धी रोगहरूलाई झण्डै ४० देखि ४५ प्रतिशतसम्म घटाउन सकिन्छ ।
श्वासप्रश्वास सम्बन्धी संक्रमणमा कमीः निमोनिया, रुघाखोकी, इन्फ्लुएन्जा र कोभिड–१९ जस्ता श्वासप्रश्वास प्रणालीका रोगहरू पनि फोहोर हातका माध्यमबाट सजिलै सर्छन् । खोक्दा वा हाच्छिउँ गर्दा हातको प्रयोग गरिने र पछि तिनै हातले अन्य सतह छुँदा भाइरस फैलिन्छ । नियमित हात धुने बानीले श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २५ देखि ३० प्रतिशतसम्म घटाउँछ ।
बाल मृत्युदरमा कमीः पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुनुको प्रमुख कारणहरूमा झाडापखाला र निमोनिया पर्दछन् । साबुनपानीले हात धुने सरल बानी बसाल्न सके लाखौँ बालबालिकाको अकाल मृत्युबाट बचाउन सकिन्छ ।
अस्पतालजन्य संक्रमण रोकथामः
स्वास्थ्य संस्था, अस्पताल वा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मी वा कुरुवाले हात सफा नराखेमा एक बिरामीबाट अर्को बिरामीमा कडा खालका जीवाणु सर्ने जोखिम हुन्छ । हात कुन–कुन समयमा धुने भन्ने कुराको जानकारी हुनु अत्यन्तै आवश्यक छ । मुख्यगरी निम्न अवस्थामा अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्दछ ।
–खाना बनाउनु खानु वा खुवाउनु अघि ।
–खाना पकाउनु वा तयार पार्नु अघि ।
–बिरामी लाई स्याहार गर्नु वा छुनु अघि ।
–बच्चालाई स्याहार गर्नु वा छुनु अघि ।
–दिसा–पिसाब गरिसकेपछि वा बालबालिकाको दिसा धोएपछि ।
–बिरामीको स्याहार गरेपछि वा घाउचोट छोएपछि ।
– फोहरमैला, फोहोर वस्तु वा जनावरलाई छोएपछि ।
– खोकेपछि, हाच्छीउँ गरेपछि वा नाक सफा गरेपछि ।
– सार्वजनिक यातायात, पैसा वा धेरैले छुने सतहहरू (ढोकाको हेन्डल, स्विच आदि) छोएपछि ।
हात धुनुको अर्थ हतार–हतार पानीले पखाल्नु मात्र होइन । हातका सबै भाग जीवाणुमुक्त बनाउन कम्तीमा २० सेकेन्ड समय दिएर निम्न तरिका अपनाउनुपर्दछ । हातलाई पानीले भिजाएर साबुन लगाउने र हत्केला–हत्केला एकआपसमा रगड्ने । एउटा हातको हत्केलाले अर्को हातको पछाडिको भाग र औँलाको बीचमा रगड्ने । दुवै हातका औँलाहरू एकआपसमा अल्झाएर औँलाका बीचमा सफा गर्ने । औँलाको पछाडिको भागलाई अर्को हत्केलामा राखेर मुठ्ठी पारी रगड्ने । बुढीऔँलालाई अर्को हातले समातेर घुमाउँदै सफा गर्ने । औँलाका टुप्पा र नङलाई हत्केलामा घुमाएर सफा गर्ने र नाडीसम्म पखालेर सफा कपडा वा हावामा सुकाउने ।
विश्व हात धुने दिवस मनाउनुको वास्तविक सार्थकता तब मात्र हुन्छ । जब यसलाई प्रत्येक घर, विद्यालय र समुदायको दैनिक जीवनशैली बनाउन सकिन्छ । बालबालिकाहरू परिवर्तनका सम्वाहक हुन् । विद्यालयमा हात धुने उचित व्यवस्था र चेतना जगाउन सके उनीहरूले यो बानी घर–घरसम्म पु¥याउँछन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा अस्पतालहरूमा हात धुने पूर्वाधार (पानी, साबुन) र शुद्धीकरणको व्यवस्था अनिवार्य हुनुपर्छ । यसले बिरामी र स्वास्थ्यकर्मी दुवैको सुरक्षा सुनिश्चित गर्छ । खानेपानी र सरसफाइका पूर्वाधार निर्माण गरी प्रत्येक नागरिकको पहुँचमा स्वच्छ पानी र साबुन पु¥याउनु स्थानीय सरकारको दायित्व हो । हातको स्वच्छता कुनै ठूलो वा खर्चिलो प्रविधि होइन, यो त केवल एउटा सजगता र सकारात्मक बानी हो । अक्टोबर १५ को विश्व हात धुने दिवसले हामीलाई यही सरल तर जीवनउपयोगी बानीको स्मरण गराउँछ ।
व्यक्तिगत स्वास्थ्य सुदृढ बनाउन, संक्रामक रोगहरूको फैलावट रोक्न र स्वस्थ समाजको निर्माण गर्न साबुनपानीले सही तरिकाले हात धुने संस्कारलाई आफ्नो दैनिक जीवनमा अनिवार्य रूपमा लागू गर्नु आजको आवश्यकता हो । स्वच्छ हात नै निरोगी र समृद्ध जीवनको पहिलो पाइला हो ।