Butwal Today

पर्व नजिकिएसँगै बढ्यो तस्करी : सुस्ताबाट १४ लाख बढीको अवैध मदिरा बरामद

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

नवलपरासी । 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएको ठुलो परिमाणको अवैध मदिरा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार बुधवार बिहान करिब ४ बजेको समयमा  सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडक खण्डबाट ११ वटा हरियो ठुलो झोलामा राखेर ल्याइएको अवैध मदिरा बरामद गरिएको हो ।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याई ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बरामद मदिरा विभिन्न प्रकारका ७५० मिलिलिटरका कुल ७४२ बोतल मदिरा बरामद गरिएको छ ।

प्रति बोतल दुई हजार रुपैयाँका दरले मूल्याङ्कन गर्दा बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मदिरा ओसारपसारमा संलग्नहरू भने नियन्त्रणमा न आएको सूचना अधिकारी मदन थापाले जानकारी दिए । अवैध ओसारपसारको ट्रान्जिट पोईन्ट बनेको यस जिल्लामा चाडपर्व नजिकिए सँगै अवैध ओसारपसार बढ्ने गरेको छ ।

हरेक पटक सामाग्री फेला पर्ने तर कारोबारीहरू भने नियन्त्रणमा आउन नसक्नु र भन्सार बुझाइएका सामग्री समेत तस्करहरूले नै मिलेमतोमा आफैले सकार्ने हुँदा भन्सार कार्यालय र प्रहरीको भूमिका माथि आशङ्का उब्जिएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?